सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ, एक अर्ब हिनामिना गरेको आरोप
काठमाडौं– सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ ।
बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईँ पाण्डेलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरीले कार्यालय बुटवल डीएसपी विजयराज पण्डितले बताए । पक्राउ परेका उनीहरूविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पनि उनले बताए।
रूपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरूको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरूले प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८० १०:११













