काठमाडौं– मकवानपुरको टिस्टुङ–पालुङ अहिलेजस्तो पर्यटकका लागि आकर्षणको केन्द्र थिएन त्यतिबेला। ठाउँको ऐतिहासिक महत्त्व त थियो, तर त्यसलाई भजाउने आइडीया भने फुरिसकेको थिएन कसैका दिमागमा। किशोर वयमा टेक्दै गरेका बालकृष्ण गोपालीलाई भविष्यको चिन्ताले सताउन थालिसकेको थियो। गाउँका धेरै जना दाइहरु काठमाडौं हुँदै विदेश गइसकेका थिए, कमाइ गर्न।
उनलाई लाग्थ्यो– विदेश गए टन्न पैसा कमाइन्छ। ‘विदेश गएर पैसा कमाएपछि त!’ उनी सपनाको जहाज चढेर विदेशको शयर गर्थे।
तर विदेश जान सजिलो थिएन। पैसा चाहिन्थ्यो। घरमा पैसा थिएन। उनी काठमाडौं हान्निए। काठमाडौंमा केही महिना काम गरेर विदेश जाने पैसा जम्मा गर्ने योजना योजना थियो उनको।
काठमाडौं त आइयो, तर काम पो के गर्ने? कामको खोजीमा गल्लीहरु चहार्दा धेरै दिन बिते। गाउँकै १ जना चिनेका मान्छेले काम खोजिदिए। असन क्षेत्रको एउटा कस्मेटिक पसलमा काम मिल्यो। सामान तलमाथि सार्नेदेखि ग्राहकले भनेका सामान खोजेर ल्याउनु पर्ने। काम त ठिकै थियो, तर दाम भने सोचेजस्तो नहुने।
आज–भोलि भन्दाभन्दै २ वर्ष त्यहीँ काम गर्दै बिते। असन क्षेत्रको व्यस्त पसलमा हुने व्यापार देखेर उनलाई पनि त्यस्तै (कस्मेटिक) पसल चलाउने सोच आयो। त्यतिबेलासम्म कस्मेटिक सामानका होलसेलरदेखि सामान सप्लाइ गर्ने ‘पार्टी’, सबैसँग चिनजान भइसकेको थियो। पसल सुरु गर्न गाह्रो भएन।
५ वर्षजति आफ्नै पसल चलाए। उत्पातै नभए पनि पसलमा व्यापार भने ठिकै थियो। आफ्नो र घरखर्च चलाउन पुगेकै थियो। तर उनलाई भने विदेश जानु थियो। विदेश गएर टन्न पैसा कमाउने बच्चैदेखिको सपना! उनले आफ्नो सपना पूरा गर्ने निधो गरे। र, पसल बेचेर हान्निए कतार।
कतार पुगेर दोहा विमानस्थलको होटलमा काम सुरु भयो। सुरुमा हाउस किपिङ गरे। त्यसपछि वेटरको काम पाए। गएकै दिनदेखि हात खाली नहुने गरी काम! ‘विदेश’बारे जुन कल्पना गरेका थिए, वास्तविकता त्यस्तो थिएन।
घोटिएर काम गर्दा पनि आम्दानी भने उत्ति नै। ‘यति मेहनत आफ्नै देशमा गर्यो भने?’ कामको धपेडीबाट अलिकति फुर्सद पाउँदा उनले आफैंसँग प्रश्न गर्न थाले।
उनलाई विदेशको बसाइ तितो लाग्न थाल्यो। आम्दानी सोचेजस्तो नहुने, कामबाट भने फुर्सद पनि नपाइने। विदेशप्रतिको मोह डेढ वर्षमै भङ्ग भयो। ०७३ सालको मध्यतिर उनी फर्किए आफ्नै देश।
ooo
अहिले बालकृष्ण कुलेखानीको किनारमा भेटिन्छन्। घरबाट पनि नजिकै पर्ने कुलाखानीमा अहिलेको जस्तो बसाइ होला भन्ने सायदै सोचेका थिए। आफ्ना लागि आम्दानीसँगै अरुका लागि रोजगारीको स्रोत जुटाएका छन्। कुलेखानी (इन्द्रसरोवर ताल)को छेउमा ‘कुलेखानी लेक भ्यू रिसोर्ट’ चलाएका छन्।
कतारबाट घर फर्किएपछि दाइसँगै डुल्दै पुगेका थिए कुलेखानीको किनार। त्यही दिन काठमाडौंबाट बिदा मनाउन आएका आन्तरिक पर्यटकको भिड थियो। दाइले आफ्नो योजना सुनाए– अब यहीँ गर्नुपर्छ, होटेल खोल्नुपर्छ। उनले त्यसका लागि पूरापुर सहयोग गर्ने बाचा गरे।
दाइले होटलको काम थाले। जग हालेको दिनदेखि बालकृष्ण पनि खटिए। होटल सञ्चालनमा आयो। पाहुनाहरु आउन थाले। अरु दिन फाट्टटफुट्ट भए पनि शुक्रबार र शनिबार भने थेग्नै नसक्ने संख्यामा गेस्ट पुग्ने। त्यसपछि उनले दाइसँगै सल्लाह गरेर कुलेखानीको किनार, सिम्लाङमा रिसोर्ट खोले।
२०७८ सालबाट सुरु गरेको रिसोर्टलाई अझै भव्य बनाउने योजना छ उनको। अहिले पनि दिनमा करिब ५० जना गेस्टलाई सेवा दिन सक्ने क्षमता छ उनको।
रिसोर्टले ओगटेको ६ रोपनी जग्गामध्ये आधा जग्गा उनको आफ्नै हो। बाँकी ३ रोपनीको भने भाडा तिर्छन्। जग्गा खरिद र संरचना निर्माणमा गरी ४ करोड जति लगानी गरिसकेका छन्। लगानीका लागि धेरैजसो रकम बैंकबाट ऋण लिएर जुटाएका हुन्।
रिसोर्ट आउने गेस्टलाई बोटिङ (डुङ्गा सयर) र फिसिङ (माछा मार्ने) सेवा उपलब्ध गराइरहेको उनी बताउँछन्। गेस्टले चाहेको खण्डमा हाइक गरेर मोहिनी झरना पनि पुग्न सकिन्छ।
‘एक दिन बास बसेर, दोस्रो दिन घुम्नका लागि कुलेखानी एकदमै उपयुक्त ठाउँ हो,’ बालकृष्ण भन्छन्। नजिकै नेपालकै ठूलो भेडा फार्म पनि छ। भेडा फार्म रहेको ठूलो घाँसे मैदानमा फोटो र भिडियो खिच्नेको भिड नै लागेको हुन्छ। अहिले त म्यूजिक भिडियो र फिल्म खिच्ने टोली पनि त्यहाँ पुगेका हुन्छन्।
बालकृष्णलाई अहिले नेपालमा अवसर छैन भन्दै विदेश गइरहेका युवा देख्दा भने नराम्रो लाग्छ। ‘आफू विदेशबाट फर्किएर आएको भएर होला, काम खोज्नलाई विदेश जानु राम्रो हैन जस्तो लाग्छ,’ उनी भन्छन्।
विदेशको जति मेहनत यतै गर्यो भने राम्रै आम्दानी गर्न सकिने बताउँछन् उनी। तर अहिलेको युवा पुस्तालाई सरकारले स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने उनको बुझाइ छ। केही गर्छु भन्ने मान्छेलाई पनि सरकारी निकायको कतिपय व्यवहारले हैरान बनाउने गरेको अनुभव पनि सुनाए उनले। तर अहिले स्थानीय तहको सरकारबाट भने उनलाई केही आस छ।
स्थानीय सरकारले चाहेको खण्डमा धेरै काम गर्न सकिने उदाहरण प्रस्तुत गर्दै उनी भन्छन्, ‘अब भिजन भएका मान्छेलाई काम गर्न स्थानीय सरकार छन्। स्थानीय सरकारको नेतृत्वमा युवाहरु आउनुपर्छ। अब देश युवाहरुले नै चलाउने हो।’
योजना त अझै बृहत् छ उनको। कुलेखानीको किनारमा जस्तै देशका अन्य कुनाहरुमा पनि पुगेर पर्यटकको सेवा गर्न चाहन्छन्। नयाँ–नयाँ गन्तव्यहरुमा पर्यटकलाई सुविधा दिने सपना छ उनको।
कोभिडपछि छाएको आर्थिक मन्दीले भने केही असर पारेको छ। तर उनी मन्दीलाई कारण बनाएर ‘सुस्त’ हुने पक्षमा छैनन्। ‘मन्दी त आउँछ, जान्छ। काम गर्न छाड्न त भएन नि!’ आत्मविश्वासले भरिएका शब्दहरु सुनाउँछन् उनी।