News Griha :: न्यूजगृह
कांग्रेसभित्र हिन्दुराष्ट्रको बहस : सनातन हिन्दुराष्ट्रको पक्षमा निर्णय लिन माग गर्दै कांग्रेसमा २२ नेताले राखे पूरक प्रस्ताव

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसभित्र विस्तारै हिन्दुराष्ट्रको एजेन्डा बहसको विषय बन्न थालेको छ। ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसका २२ जना नेताहरूले शुक्रबार पार्टीले हिन्दुराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै पुरक प्रस्ताव दर्ता गराएका हुन्। पार्टी केन्द्रीय सदस्य तथा प्रदेश कार्यसमितिका सभापति सहित २२ जना नेताहरूले धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु धर्मको पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै विशेष पूरक प्रस्ताव दर्ता गराएका हुन्। 

त्यस्तै बैठकमा सहभागी केन्द्रीय सदस्य शंकर भण्डारीले सनातन हिन्दुराष्ट्रको पक्षमा उभिन आग्रहसहित सभापति शेरबहादुर देउवालाई प्रस्ताव पत्र बुझाए। हिन्दुराष्ट्रको पक्षमा केन्द्रीय सदस्य र प्रदेश कार्यसमितिका सभापतिहरूले समेत हस्ताक्षर गरेका छन्। हिन्दुराष्ट्रको पक्षमा उभिन मागसहित हस्ताक्षर गरेर पार्टीमा प्रस्ताव बुझाउनेमा केन्द्रीय सदस्य भण्डारीसहित २२ जना छन्।

जसमा पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, रंगमति शाही, सीता देवकोटा, सीताकुमारी, दिलेन्द्र बडु, डा. डिला संग्रौला, शारदा पौडेल र अर्जुनबहादुर सिंहले हस्ताक्षर गरेका छन्।  त्यस्तै चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला र मुक्ताकुमारी यादवले पनि हिन्दु धर्मसहितको नेपालको पक्षमा हस्ताक्षर गरेका हुन्। 

उक्त प्रस्तावमा कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश कार्यसमिति सभापति शुक्रराज शर्माले हस्ताक्षर गरेका छन्। उनीहरू सबैले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्ममा कांग्रेस उभिनुपर्ने भन्दै हस्ताक्षर गरेका हुन्।  ‘कांग्रेस जस्तो व्यापक जनआधार भएको प्रजातान्त्रिक पार्टीले नेपाली भूमिमा प्रादुर्भाव भएको बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशत भन्दाबढी वैदिक सनातन हिन्दु धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधार, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिनु ठिक थिएन’, उनीहरूले भनेका छन्। 

उनीहरूले वैदिक सनातन हिन्दुराष्ट्र राष्ट्र कायम गर्न त्रिवेणी धाम र काठमाडौंमा भएको महासमिति बैठकका बहुमत महासमिति सदस्यहरूले प्रस्ताव राखेको पनि नेतृत्वलाई सम्झाएका छन्। उनीहरूले ७ फागुनदेखि हुने महासमिति बैठकका लागि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उक्त प्रस्ताव लगेका हुन्। 

‘कांग्रेसको राजनीतिक दस्तावेजहरूमा वैदिक सनातन धर्म जस्तो बहुमत महासमिति सदस्यको भावना र नेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा नल्याइएकोमा चिन्तित हुँदै हामीले महासमिति बैठकबाट छलफल गरेर सनातन हिन्दुराष्ट्रको पक्षमा कांग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावका रूपमा वैदिक सनातन हिन्दु धर्मको पक्षमा पेश गरेका छौँ,’ उनीहरूले भनेका छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १६:१५
Weather Update