काठमाडौं– मोरङको बूढीगंगा गाउँपालिका– ७ मा ‘बोक्सी’ को आरोप लगाएर एक महिलालाई मलमूत्र खुवाइएको छ। ५५ वर्षीया महिलालाई कुटपिट गर्दै मलमूत्र खुवाएर दुर्व्यवहार गरिएको मोरङ प्रहरीले बताएको छ।
घटनामा संलग्न आरोपमा धामी झाँक्रीको काम गर्दे आएकी पारो माझी पक्राउ परेकी छन्। माझीको घरबाट दियो चोरेको ती वृद्धमाथि आरोप लगाइएको छ।
डीएसपी रञ्जनकुमार दाहालले झाँक्री माझीलाई बिहीबार साँझ पक्राउ गरिएको बताए। दाहालका अनुसार माझीले बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै महिलालाई यातना दिएर मलमूत्र खुवाएकी थिइन्। प्रहरीका अनुसार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । उक्त दियो चोरी गरेको महिलामाथि आरोप लगाइएको हो।
पीडितले किटानी जाहेरी दिइसकेका छन्। डीएसपी दाहालले अनुसन्धानका लागि अदालतबाट शुक्रबार म्याद थपेर मुद्दा प्रक्रिया अघि बढाइने बताए।













