News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय समितिमा प्रस्तुत प्रतिवेदनमाथि धारणा राख्नेक्रम जारी

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

बिहीबारदेखि सुरू भएको बैठकमा आगामी सोमबारदेखि गोदावरीमा हुन लागेको पार्टीको महासमिति बैठकको तयारीका विषयमा छलफल भइरहेको छ। बिहीबारको बैठकमा महासमिति बैठकका लागि तयार गरिएका प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो । 

उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र अर्का महामन्त्री गगन थापाले पार्टीको संगठनको विषयमा प्रतिवेदन तयार गरेका छन् । बिहीबारको बैठकमा ती नै प्रतिवेदनहरू केन्द्रीय समितिमा छलफलका लागि प्रस्तुत भएका थिए । 

त्यसमाथि केन्द्रीय सदस्यहरूले धारणा र सुझाव राख्ने क्रम चलिरहेको छ । केन्द्रीय सदस्यहरूको धारणा समेतलाई समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ । 

शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ९ बजेदेखि बैठक सुरु हुने सञ्चार तथा सुचना प्रविधि विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
 
कांग्रेसको महासमिति बैठक ७ फागुनदेखि हुँदैछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०८:१०
Weather Update