
काठमाडौं– नेकपा एमालेले केन्द्रीय सदस्य ऐन महर र सिराज अहमद फारुकीलाई बर्खास्त गरेको छ ।
केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले महर र फारुकीलाई बर्खास्त गरेको हो । तर यो सूचना सार्वजनिक गर्दा एमालेले राजीनामा स्वीकृत गरेको भनेको छ । ‘बैठकले दुई जना केन्द्रीय कमिटीका सदस्यहरू अहमद फारुकी र ऐन महरको राजीनामा स्वीकृत गरेको छ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
तर एक नेताका अनुसार राजीनामा स्वीकृत गरेको नभइ उनीहरूलाई बर्खास्त गरिएको हो । ‘यौन विचलनमा परेको अडिओ सार्वजनिक भएकाले ऐन महरलाई र आर्थिक बिचलनको प्रमाणहरू भेटिएकाले फारुकीलाई बर्खास्त गरिएको हो,’ ती नेताले भने ।
बर्खास्त भनेर निर्णय सार्वजनिक गर्दा त्यसको कारण खुलाउनुपर्ने भएकाले राजीनामा स्वीकृत भनेर लेखिएको उनी बताउँछन् । ‘पार्टीको अनुशासनमा नबस्ने अरु नेताहरूबारे पनि छलफल चलिरहेको छ । अहिले दुई जनालाई बर्खास्त गरिएको हो,’ उनी भन्छन् ।