News Griha :: न्यूजगृह
ललिता निवास प्रकरण: विजय गच्छदारले पाए सफाइ

काठमाडौं– काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका अभियुक्त विजय कुमार गच्छदारले सफाइ पाएका छन्। 

विशेष अदालतले बिहीबार फैसला सुनाउँदै नेपाली कांग्रेसका उपसभापति समेत रहेका गच्छदारविरुद्धको अभियोगमा दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो। 

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो। २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा गच्छदारले भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो। 

२९ चैत २०६६ को मन्त्रिपरिषद् बैठकको प्रस्तावमा ललिता निवासमा रहेको प्रधानमन्त्री निवास विस्तार र मोही व्यवस्थापनको समावेश थियो। गच्छदारले नक्कली मोही खडा गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव ल्याएको देखिएको भन्दै अख्तियारले उनलाई प्रतिवादी बनाएको थियो। 

ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणको अनुसन्धान सकेर अख्तियारले २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले मुद्दा दर्ता गरेपछि पनि लामो समय ‘फरार’ भएका गच्छदार २०७८ असार ३० गते विशेष अदालतमा हाजिर भएका थिए। 

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १९:११
Weather Update