News Griha :: न्यूजगृह
क्यानाडा दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको पहिचान खुल्यो

काठमाडौं—क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन शहरमा मंगलबार भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएकाहरूको पनि पहिचान खुलेको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा सिन्धुपाल्चोकका सुशील भट्टराई र सोलुखुम्बुकी पासाङ डोमा शेर्पा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यानाडाको लण्डन क्षेत्रका संयोजक कुबेर बुर्लाकोटीले जानकारी दिए ।

ज्यान गुमाउनेहरू अध्ययनका लागि क्यानाडा गएका थिए । उनीहरु स्थानीय एक कम्पनीमा आंशिक समय काम गर्दै आएका थिए ।

स्टाडफोर्ड, अन्टारियोको एक मोटर पार्टस् निर्माण गर्ने कम्पनीमा काम बिहानको सिफ्टमा काम गर्न जाँदै गरेका उनीहरू दुर्घटनामा परेका थिए। जसमा कार चालक मधु थापा, हिरामणि गौतम, जुना लामा लगायत घाइते छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको छ। 

अन्टारियो प्रान्तको दक्षिणपश्चिमी शहर लण्डनमा तीनवटा कार आपसमा ठोक्किएर दुर्घटना भएको थियो । त्यस क्रममा विपरीत दिशाबाट आएको कारसँग पहिलो कार जुधेको र त्यो कारलाई पछ्याउँदै गइहेको अर्को कार पहिलो कारसँग ठोक्किन पुगेको त्यहाँका नेपालीले जानकारी दिएका छन् ।

मृतकको शव नेपाल पठाउनेबारे छलफल भइरहेको जनाइएको छ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १८:५३
Weather Update