News Griha :: न्यूजगृह
रवि र जीबीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान, कारोबारको विवरण पठाउन बैंकहरुलाई पत्र

काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान थालेको छ । विभागले रविसँगै ग्यालेक्सी फोर–के टेलिभिजन सञ्चालन गरेका जितेन्द्र बाबु राई (जीबी राई)माथि पनि अनुसन्धान थालेको हो ।

लामिछाने र राईले सँगै मिलेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गरेका थिए । उक्त टेलिभिजन सञ्चालन गर्न सहकारी संस्थाबाट गैरकानुनी रुपमा रकम झिकेर लगानी गरिएको विषय सार्वजनिक भएको थियो । जीबी राई विभिन्न सहकारी ठगी प्रकरणमा पनि मुछिएका छन् । 

विभागले रवि र जीबीमाथि छानबिन थालिएको बताउँदै विभिन्न बैंकहरुलाई उनीहरुको कारोबारको विवरण उपलब्ध गराउन भनेको छ । विभागले विभिन् २० वटा बैंकहरुलाई पत्र लेख्दै रवि र जीबीको कारोबारको विवरण उपलब्ध गराउन भनेको छ । 

रवि र जीबीको कारोबार विवरण माग्दै विभागले नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभरेस्ट बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकलाई पत्र पठाएको छ । 

यस्तै, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, प्रभु बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकलाई पनि पत्र पठाउँदै विभागले रवि र जीबीको कारोबार विवरण उपलब्ध गराउन भनेको छ । 

‘सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेको हुँदा तहाँ बैंकहरुमा निम्न व्यक्तिहरुको नाममा कुनै किसिमको खाता छ, छैन? भए के–कुन प्रकारको खाता रहेको छ? खाता विवरण, खाता खोल्दाको बखत पेस गरेका कागजातहरु र हालको मौज्दात समेतको (सफ्ट कपी) अनिवार्य रुपमा पठाइ दिनहुन अनुरोध गरिएको छ,’ विभागले बैंकहरुलाई लेखेको पत्रमा भनिएको छ । 

रवि र जीबीविरुद्ध कास्कीमा सहकारीपीडितहरुले उजुरी दर्ता गरेका छन् । जीबीविरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा समेत पुगिसकेको छ । सहकारी ठगीको मुद्दा दर्ता भएपछि प्रहरीले जीबीविरुद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस समेत जारी गराएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १७:२६
Weather Update