
काठमाडौं— आज (बुधबार) दिनभर देशभर नै आंशिकदेखि सामान्य बदली रहे पनि बिहीबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार देशका केही ठाउँमा हल्का वर्षा समेत भएको छ । केही प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात समेत भएको विभागले जनाएको छ ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि भने मौसममा क्रमिक सुधार हुनेछ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बिहीबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने जानकारी दिए । बुधबार अपराह्नसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उनले जानकारी दिए ।
हाल नेपालमा रहेको मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले बुधबार रातिसम्म मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिए । बुधबार अपराह्नसम्म संघीय राजधानी काठमाडौंसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ । उनका अनुसार मधेस प्रदेशका १/२ स्थान तथा काठमाडौंका केही स्थानमा छिटफुट वर्षा भएको छ ।
बुधबार रातिको समयमा कोशी प्रदेशका १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । अहिले काठमाडौंको अधिकतम तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ ।













