
काठमाडौं— छोरा जयवीरको बिहेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसै सप्ताहान्तमा पार्टी महासमितिको बैठक उद्घाटन गर्दैछन् । छोराको बिहेका लागि शुभ साइतको खोजी गरेका देउवाले महासमिति बैठक बोलाउँदा भने तिथिमिति, खोजी गरेनन् । सभापति देउवाको एक्लो चाहनाले मात्र महासमिति बैठक हुन सक्ने कुरै होइन, निकटस्थले चिसो मौसम छल्न दिएको सल्लाह देउवालाई अस्वीकार गर्न असहज पनि भएन । तर विलम्ब भए पनि फागुन ७ का दिन भने महासमिति बैठक उद्घाटन हुने कुरा अब निश्चित जस्तै भएको छ ।
कांग्रेस महासमिति बैठक पार्टीभित्र मात्र नभइ राष्ट्रिय राजनीतिमा पनि उत्तिकै चासोको विषय बनेको छ । सत्ता गठबन्धनको भविष्यमाथि स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रश्न उठाइसकेका छन् भने कांग्रेससँगको सहयात्रालाई विश्राम दिने मनसाय उनले प्रकट पनि गरिसकेका छन् । त्यसैले पनि कांग्रेस महासमिति बैठक सबैका लागि चासोको विषय बनेको छ ।
महासमिति बैठकमा कांग्रेसले के कस्ता राजनीतिक विषयमाथि छलफल गर्दैछ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । महासमिति बैठकमा पार्टीका केही नेताले धर्मसम्बन्धी विषय प्रवेश गराएर छलफल गराउने गृहकार्य पनि गरिरहेको सुनिन्छ ।
केन्द्रीय सदस्य शंकर भण्डारीको अगुवाइमा वैदिक सनातन हिन्दु धर्मको पक्षमा राजनीतिक अभियान नै छेडिएको छ । कुनै बेला राजकाजमा सक्रिय रहेका नेता लक्ष्मण प्रसाद घिमिरे र अर्का नेता लोकेश ढकाल पनि यस अभियानका सक्रिय अगुवा देखिएका छन् ।
यही विषयलाई नेपाली कांग्रेस डडेलधुराका पूर्वसभापति कर्ण मल्लले गएको महासमितिमा लिखितरूपमै प्रस्ताव प्रस्तुत गरेका थिए । ठूलो सङ्ख्यामा महासमिति सदस्यहरूको हस्ताक्षर रहेको मल्लको प्रस्तावलाई औपचारिक रूपमै ग्रहण गरेर संस्थागत अभिलेखमा राखिएको थियो । अहिले भण्डारी नेतृत्वको समूहले यसलाई केही परिमार्जन गरेर निरन्तरता दिएको छ ।
विधानअनुसार महासमिति बैठक प्रत्येक वर्ष आयोजना गर्नुपर्ने भए पनि सभापति देउवाले विभिन्न कारण उभ्याएर यसलाई पर सार्दै आएका थिए । गएको मंसिरमै हुनुपर्ने यो बैठक पनि चिसो मौसमले स्थगित भएको थियो । मंसिरको बैठक सरेपछि यही अवधिमा सभापति देउवा दम्पतिले छोरा जयवीरको बिहे सम्पन्न गरे । ‘घरभान्साको साँचो’ छोरा बुहारीलाई बुझाएपछि देउवा दम्पति राजनीतिमा अझ बढी सक्रिय हुने नै छन् ।
महासमिति बैठकको पूर्व सन्ध्यामा सभापति देउवालाई भने एउटा चिन्ताको विषय आइपरेको छ । चिन्ताको विषय अरु केही नभएर सत्ता गठबन्धनको भविष्य के हुने भनेर प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नै प्रश्न खडा गरिदिएपछि उत्पन्न भएको छ ।
माओवादी केन्द्रको बैठकमा सरकारको नेतृत्व गर्दाको अडिट रिपोर्ट प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य त्यति लाभदायक नभएको निष्कर्ष सुनाएका छन् । नेपाली कांग्रेसले यसबारे कुनै टिप्पणी गरिसकेको छैन । तर प्रधानमन्त्री दाहालको भनाइले सत्ता गठबन्धनको भविष्यमाथि बहस गर्न एउटा प्रश्न भने उठाइदिएको छ । सम्भवत: महासमिति बैठकका अरु अजेन्डालाई ओझेलमा पार्न पनि प्रधानमन्त्रीको अडिट रिपोर्ट रणनीतिक रुपमा नआएको होला भन्न सकिँदैन । नेपाली कांग्रेसका शीर्ष नेतालाई चिर्कटो सहमतिमा हस्ताक्षर गराउँदा रोहबरमा बसेका दाहालले महासमिति बैठकमा घुमाउरो पाराले चासो राखे भने त्यसलाई अन्यथा मान्न पनि मिल्दैन ।