काठमाडाैं— नयाँ वर्ष २०८० शुभारम्भ भएको छ । नेपाली पात्रोअनुसार वैशाख कृष्ण नवमी तिथि, सिद्ध तैतल उत्तरषाढा पचांग भएको दिन शुक्रबार नयाँ वर्ष शुभारम्भ भएको हो ।
१ वैशाखलाई नेपालीले नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन् ।
नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरू भेला भएर घुम्न जाने, रमाइलो गर्ने गर्छन् ।
नयाँ वर्षको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रूपमा चल्दै आएको विक्रम सम्वत विक्रमादित्यले चलाएका हुन् । नेपालमा मात्र मौलिक रूपमा यो सम्वत् चल्छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत विशिष्ट व्यक्तिहरूले शुभकामना दिएका छन् ।
राष्ट्रपति पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् ।
प्रधानमन्त्री दाहालले भनेका छन्,‘सङ्कल्प गरौँ, सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र सङ्कल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौँ, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौँ ।’
नयाँ वर्ष २०८० का अवसरमा सभामुख देवराज घिमिरेले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र आरोग्यताको शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत बनाउँदै जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने अभियानलाई तीव्रता दिनैपर्ने बेला भएको बताएका छन् ।













