
कञ्चनपुर– तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका– ९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्दै आएका छन्। स्थानीय जातका कुखरा गाउँघरबाट खरिद गर्ने र बेच्ने उनको दैनिकी हो।
कुखुरा बेचेर आउने रकमले सार्की परिवारको घरखर्च चल्ने गरेको छ। उनले दैनिक १० देखि २० किलोसम्म कुखुरा बेच्ने गरेको सुनाए। भन्छन्, ‘साइकल चढेर दैनिक गाउँघरमा पुग्छु। गाउँबाट खरिद गरिएका कुखुरा महेन्द्रनगर, अत्तरियालगायतका बजारमा पुर्याएर बेच्ने गरेकोछु। ३६ वर्षदेखि यही काममा छु।’
१८ वर्षको उमेरदेखि नै छविलालको काम कुखुरा खोज्ने किन्ने र बेच्ने हो।
उनले विगत सम्झँदै भने, ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालय पढ्न पाइनँ। आमाबुवाले विद्यालय पठाएनन्, दलित समुदायको भएर होला पढ्नुपर्छ भन्ने त्यसबेला चेतना नै थिएन, जीवन चलाउनका लागि केही त गर्नैपर्यो, त्यही भएर कुखुरा खोज्ने बेच्ने काममा लागेँ।’
‘आर्थिक अवस्था निकै नाजुक भएकाले बुवाले घरमै पालिएको कुखुरा बेच्न बजार पठाउनुहुन्थ्यो। त्यसबेला कुखुरा प्रतिकिलो ३० मा बिक्री हुन्थ्यो’, विगत सम्झै सार्कीले भने, ‘कुखुरा बेचेर नगद रकम हातमा पर्यो, खरिद गर्ने व्यक्तिले अरु कुखुरा भए ल्याउन भने, मनमनै सोचे यसै कार्यलाई व्यापार बनाएर जीविका चलाउने आधार बनाए अघि बढ्ने निधो गरेँ ।’ त्यसपछि उनको पेशा नै कुखुरा किन्ने र बेच्ने बन्यो।
कुखुरा खरिद गर्ने पैसा नभएपछि आफन्तसँग केही रकम सापटी मागेर कुखुरा खरिद गर्न थालेको विगत उनीसँग छ। महेन्द्रनगर बजार पुर्याएर बेच्न गर्न थालेपछि आम्दानी सोचेजस्तै भएको र अहिले केही व्यवस्थित रुपले काम गरिरहेको उनले बताए।
गाउँघरबाट ६ सय रुपैयाँ प्रतिकिलोका दरले सार्कीले कुखुरा खरिद गरेर बजारमा पुर्याएर साढे ६ सय रुपैयाँमा बिक्री गर्ने गरेका छन्। जसबाट मासिक आम्दानी २० देखि २५ हजार रुपैयाँसम्म हुने गरेको छ । कुखुरा बेचेर आएको आम्दानीबाट सार्कीले गाउँमा तीनकोठे पक्की घर ठड्याएका छन् भने चार छोरीको पढाइसँगै विवाह खर्च कुखुराकै कारबारबाट जुट्यो। एउटी छोरी पढ्दैछन् भने छोरा काम गर्न भारत गएका छन्।
वडाध्यक्ष रमेशबहादुर ऐर छविलाललाई पौरखी व्यक्तिका रुपमा चिन्छन्। ऐरले भने, ‘आफैँ पौरख गरेर जीविका चलाउने व्यक्तिका रूपमा उहाँलाई चिनेको छु। आफ्नो कार्यमा सधैँ खटिरहन्छन्, युवाका लागि उहाँ प्रेरणाका स्रोत हुनुहुन्छ।’ रासस