
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताएका छन्।
सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्ने बताए।
सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रुपमा पुजिने बताउँदै राष्ट्रपति पौडेलले आजका दिन आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षराम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उल्लेख गरेका छन्।
राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिँदै आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ।’
वसन्त पञ्चमी पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्दै सबै नेपालीमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भन्दै राष्ट्रपतिले शुभकामना व्यक्त गरेका छन्।
वसन्त पञ्चमीलाई सकारात्मकता भर्ने तिथिका रुपमा मनाऔँ : उपराष्ट्रपति

यसैबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवले वसन्त श्रवण र सरस्वती पूजाले सिङ्गो मानव जीवनमा सधैँ ऊर्जाशील र नयाँ खोज गर्न प्रेरित गर्न सकोस् भनी कामना गरेका छन्।
सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले यस दिनले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाइ देशलाई समृद्धितर्फ उन्मुख गराउन सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन्।
उपराष्ट्रपति यादवले सन्देशमा देशमा सामाजिक तथा धार्मिक एकता एवं सहिष्णुता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्दै मुलुकलाई एकताको सूत्रमा बाँध्दै लगेको उल्लेख गरेका छन्।
वसन्त पञ्चमीलाई सबै पुण्य कार्यका लागि शुभ मानिने जनाउँदै उनले यस शुभ अवसरलाई सबैले आ–आफ्नो नकारात्मक सोच र मानसिकता परित्याग गर्दै आफूभित्र सकारात्मकता भर्ने महत्वपूर्ण तिथिका रुपमा मनाउन सक्नुपर्ने बताएका छन्। उपराषष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘यो वसन्त ऋतुको आगमन हुने दिन पनि भएकाले आफ्नो जीवनमा सदाचार र मेलमिलापको गुण आत्मसात् गर्न सक्नु पर्दछ।’













