'न्याय मार्च'मा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच मकवानपुरमा झडप, २ जना घाइते

काठमाडौं– न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच मकवानपुरमा झडप भएको छ । झडपमा दुई जना घाइते भएका छन्।
मिटरब्याजको समस्या समाधान नभएको भन्दै पीडितहरूले गत माघ १६ बाट काँकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्च थालेका थिए। काँकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक समूहसँग विवाद भएको थियो।
मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका संयोजक अवधेश कुशवाहाका अनुसार गाडी राखेर बाटो अवरोध गरेपछि विवाद सुरु भएको थियो। त्यसक्रममा झडप भएको उनले बताए। झडपमा घाइतेलाई उपचारका लागि मनहरी अस्पताल लगिएको छ।
बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णु केसीले घटना भएको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताए।
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८० २०:४८













