
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन जनयुद्धका आफ्ना सहयात्रीहरुलाई एकताका लागि अपिल गरेका छन् । एउटै मोर्चामा एकताबद्ध हुन जति ढिला गरिन्छ त्यति नै क्षति हुने उनको भनाइ छ ।
मंगलबारदेखि सुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘माओवादी मोर्चाका सबै समूहलाई एउटै केन्द्र र मोर्चामा एकताबद्ध हुन अपिल गर्छु । अब ढिलो नगरौं, जति ढिला भयो, त्यति क्षति हुन्छ । यो राजनीतिक रुपमा घाटा हुनसक्छ ।’
पहिले एउटै पार्टी, माओवादीमा रहेकाहरु तर्क र तथ्यसहित आए आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको पनि प्रचण्डले उल्लेख गरे । ्
‘मैले जीवनको उत्तरार्द्धमा पनि देशलाई नयाँ क्रान्तितिर लैजाने संकल्प गरेको छु । कोही कमरेडहरू तर्क र तथ्यसहित आउनुहुन्छ भने मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन । यो कुरा म प्रस्ट भन्छु,’ प्रचण्डले भने ।
अहिले जहाँ भए पनि हिजो माओवादी युद्धका सहयात्रीहरुले आफूलाई स्थापित गर्न सहयोग गरेको प्रचण्डको भनाइ छ । ‘तपाईं अहिले जहाँ भए पनि हिजो माओवादी युद्धका सहयात्रीहरु मलाई स्थापित गर्न सहयोग गर्नुभयो । र, हिजो कुनै बेला प्रचण्डको एउटा सानो वक्तव्यले देश नै ठप्प हुने स्थिति बनाउन योगदान छ,’ उनले भने ।
अहिले प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरुले टाउको उठाउन खोजेको उल्लेख गर्दै प्रचण्डले त्यसको प्रतिवाद गर्न जरुरी भइसकेको बताएका छन् ।
‘आउनुस्, अहिले प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरुले टाउको उठाउन खोज्दैछन्, त्यसको प्रतिवाद गरौं । हामी सबै एक हौऔं । अहिले सबै राम्रो छ । हामीले एकातिर समाजवादी मोर्चा बनाएका छौं अर्कोतिर समान विचार भएको पार्टी एक हुने कोसिस पनि गरिरहेका छौं,’ प्रचण्डले भने, ‘त्यसकारणले यो अवसर हो, सबै क्रान्तिकारीहरु एक ठाउँमा हुने । अहिले पार्टी र सरकारको मोर्चाबाट समाजवादको नयाँ अभियान सुरु गर्ने जमर्को गरेका छौं ।’