
काठमाडौं– सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको विधान सम्मेलन राजधानीमा सुरु भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विधान सम्मेलन जारी छ।
कलाकारहरुले अन्तर्राष्ट्रिय गीत गाएपछि विधान सम्मेलन सुरु भएको हो । विधान सम्मेलनको उद्घाटनका क्रममा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललगायतका माओवादीका नेताले शहीदको तस्बिरमा माल्यापर्ण गरेका थिए।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ। सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ ।
पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादीले जनाएको छ । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य सदस्य थिए।
समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो ।
प्रस्तावित विधानमा माघ २६ र २७ गते भएको पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो । गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनको तयारीका बारेमा पनि छलफल भएको थियो । छलफलमा सहभागी केन्द्रीय सदस्यले विधानको मस्यौदालाई सङ्क्षिप्त र कार्यान्वयनयोग्य बनाइनुपर्ने तथा पार्टीको संरचनालाई चुस्त बनाइनुपर्नेमा जोड दिएका थिए।
सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले आज (जनयुद्ध दिवस)को स्मरणमा सार्वजनिक बिदा दिए पनि अदालतको आदेशलाई सम्मान गरेको बताए। सरकारीस्तरमा दिवस मनाउन नपाए पनि आज देश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको गृहमन्त्री श्रेष्ठले बताए।
श्रेष्ठले शान्ति प्रक्रियालाई पूरा गरेर आगामी दिनमा थप व्यवस्थितरुपमा दिवस मनाउने विश्वास व्यक्त गरेका छन्। जनयुद्ध र जनआन्दोलनको संयोजनबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र नेपालको शान्ति प्रक्रिया मौलिकरुपमा पूरा भएको उनको कथन थियो । नेपालमा हाल भएको परिवर्तन मौलिकरुपमा अगाडि बढेको, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र समाजवादोउन्मुख लोकतन्त्र संविधानमा लिपिबद्ध भएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।