News Griha :: न्यूजगृह
कोशीका मुख्यमन्त्री सत्ता टिकाउने खेलमा लागेको एमालेको आरोप
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की। फाइल तस्बिर

विराटनगर– नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सत्ता टिकाउन ‘जस्तोसुकै हर्कत गर्न अग्रसर भएको’ आरोप लगाएको छ ।

एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै वर्तमान मुख्यमन्त्री सत्ता टिकाउने खेलमा लागेको आरोप लगाएका हुन्। 

गैरदलीय पृष्ठभूमिबाट बनेको प्रदेश सरकार संविधानको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्ने कार्यभारविपरीत नितान्त भागबण्डाको राजनीति र सत्ता टिकाउने खेलमा लागेको आरोप खतिवडाले लगाएका छन् ।

कानुनको धज्जी उडाउँदै सरकार भष्ट्राचार र कुशासनको पक्षमा लागेको पनि उनले उल्लेख गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले ल्याएको बजेटलाई अध्यादेशमार्फत संशोधन गर्ने क्रममा दीर्घकालीन महत्वका प्रदेश गौरवका आयोजना, बहुबर्षे आयोजनाहरुको रकम भारी कटौती गरेर सत्ता भागभण्डामा लागेको विज्ञप्तिमा जनाइएको छ ।

संविधानको मर्म र भावनाविपरीत संवैधानिक नियन्त्रण र सन्तुलन, पारदर्शिता, जवाफदेहितालाई धज्जी उडाउँदै नियमित चलिरहेको हिउँदे अधिवेशन हतारहतार पुस २५ गते समापन गरेर माघ ६ गते केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० ल्याएर कानुन र विधिको शासनको धज्जी उढाइएको एमालेको तर्क छ । 

विज्ञप्तिमा भनिएको छ– ‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड ख को परिभाषालाई प्रयोजनहीन पार्ने गरी अध्यादेशमार्फत् पूर्वमुख्यमन्त्री, सत्ता पक्षका संसदीय दलका नेता र सचेतकहरुलाई गाडी सुबिधा दिने, जनस्वास्थ्य ऐनमा संशोधन गर्दै व्यवस्थाविपरीत कार्यकर्तालाई भर्ती गर्ने उद्देश्यले ऐनमा संशोधन गर्ने, केही कर्मचारीको स्वार्थपूर्तिका लागि कर्मचारी ऐनलाई संशोधन गर्ने जस्ता कार्यले यो सरकार सत्ता टिकाउने नाममा जस्तोसुकै हर्कत गर्न अग्रसर भएको पुष्टि भएको छ ।’

मुख्यमन्त्री कार्कीले पछिल्लो समय दिएका अभिव्यक्तिप्रति पनि एमालेले असन्तुष्टि देखाएको छ । मुख्यमन्त्रीका सार्वजानिक अभिव्यक्तिले मुख्यमन्त्रीको योग्यता र सरकारको हैसियत हदैसम्म गिराएको एमालेको ठहर छ ।

देशको अर्थतन्त्र दिनानुदिन ओरालो लागिरहेको परिस्थितिमा जनताबाट उठाएको करबाट सत्ता साझेदार दलका नेतालाई गाडी सुबिधा दिने कानुन बनाउनुले यो सरकार जनताको समस्याप्रति कति पनि जबाफदेही नभएको र सत्ता टिकाउनमा नै लिप्त रहेको पुष्टि भएको प्रदेश अध्यक्ष खतिवडाको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १०:५०
Weather Update