News Griha :: न्यूजगृह
भृकुटीमण्डपमा दुर्गा प्रसाईँको सभा बिहान ११ बजेपछि, यी स्थानबाट निस्कदैछ जुलुस

काठमाडौं— व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ अभियानले आज वार्षिकोत्सव मनाउँदै छ। काठमाडौंको भृकुटीमण्डममा कार्यक्रम गरी अभियानले वार्षिकोत्सव मनाउन लागेको हो । कार्यक्रमका लागि अभियानले देशका विभिन्न भागबाट सहभागी बोलाएको छ । 

सभामा सहभागी हुन प्रसाईँले विभिन्न राजनीतिक दलका नेताहरूलाई निम्ता दिएका छन् । तर, प्रमुख दलका नेताहरू कार्यक्रममा सहभागी हुन सम्भावना भने न्यून छ। कसैले सकारात्मक जवाफ दिएका छैनन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि निम्तो दिइएको थियो । तर, पूर्वराजा शाह प्रसाईँको कार्यक्रम छलेर आइतबार नै चितवनतिर लागेका छन् । 

प्रसाईँको कार्यक्रमप्रति राप्रपा र राप्रपा नेपालले भने सकारात्मक प्रतिक्रिया दिएका छन् । आजको कार्यक्रममा अभियानले विभिन्न चरणका प्रदर्शनका कार्यक्रम पनि सार्वजनिक गर्ने बताएको छ । कार्यक्रम बिहान ११:३० मा सुरु गरी साँझ ५ बजेभित्र सक्ने योजना छ । 

अभियानले सहभागीलाई भृकुटीमण्डपसम्म पुग्नका लागि ७ वटा रुट तय गरेको छ । एउटा टोली नारायणगोपाल चोकबाट नाराजुलुससहित लाजिम्पाट हुँदै भृकुटीमण्डप पुग्नेछ । 

त्यस्तै अन्य टोलीहरू क्रमश: चाबहिल, कोटेश्वर–बानेश्वर, लगनखेल, बल्खु, कलंकी, कीर्तिपुर, बालाजु–नयाँ बसपार्कमा भेला भएर कार्यक्रमस्थल पुग्ने योजना बनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०९:०२
Weather Update