News Griha :: न्यूजगृह
जनयुद्ध ऐतिहासिक र गौरवशाली: प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध ऐतिहासिक र गौरवशाली भएको बताएका छन्। जनयुद्धको २९ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवस भएको बताए। 

जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको उल्लेख गर्दै दाहालले जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको अध्यक्ष दाहालले शुभकामना सन्देशमा उल्लेख गरेका छन्। 

गृहमन्त्रालयले भन्यो– जनयुद्ध दिवसमा बिदा छैन
नेपाल सरकार गृहमन्त्रालयले जनयुद्ध दिवसको दिन फागुन १ गते बिदा नरहेको जानकारी गराएको छ। गृहले एक विज्ञप्ति जारी गर्दै जनयुद्धका दिन सार्वजनिक बिदा नरहेको सूचित गरेको हो। 

नेकपा माओवादी केन्द्रले जितेका केही पालिकाले जनयुद्ध दिवसको अवसर भन्दै फागुन १ मा सार्वजनिक बिदाको घोषणा गरेपछि गृहले सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ।

सोमबार जारी विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाका आधारमा  फागुन १ मा कुनै सार्वजनिक बिदा नरहेको स्पष्ट पारिएको छ। 

मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘मन्त्रिपरिषद‍्को मिति २०८०/१०/२५ गतेको बैठकको निर्णयअनुसार नेपाल राजपत्र खण्ड ७२, संख्या ६५, भाग ५, मिति २०७९/१२/०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारी गराइन्छ।’

गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति पढ्नुहोस्

यसअघि पुष्पकमल दाहाल नेतृत्वको संघीय सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय भएको थियो। चौतर्फी विरोधसँगै सर्वोच्चमा परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले जनयुद्ध दिवसको नाममा फागुन १ मा दिएको सार्वजनिक बिदा संविधानको भावना र मर्मविपरीत ठहर गर्दै खारेज गरिदिएको थियो।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०६:५३
Weather Update