News Griha :: न्यूजगृह
सर्वोच्चले खारेज गरेको ‘जनयुद्ध दिवस’मा लिम्चुङबुङ गाउँपालिकाले बिदा दिने

विराटनगर फागुन १ गते ‘जनयुद्ध दिवस’ का अवसरमा भन्दै उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि संघीय सरकारले उक्त दिन बिदा दिने निर्णय गरेको थियो । बिदा दिने सरकारको उक्त निर्णय विवादित बनेको थियो । 

सर्वोच्च अदालतले बिदा दिन सरकारले गरेको निर्णयलाई खारेज गरेको थियो । लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले विज्ञप्ति जारी गर्दै फागुन १ गते गाउँपालिकामा सार्वजनिक बिदा दिइएको जनाएका छन् । अध्यक्षस्तरीय निर्णय गर्दै बिदा दिने निर्णय भएको जनाइएको छ ।

संघीय सरकारले गत वर्ष उक्त दिन बिदा दिने निर्णय गरेको थियो ।  पुस १३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त बिदा असंवैधानिक भएको ठहर गरेको थियो ।

यसैबीच, संघीय सरकारको गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै फागुन १ गतेका लागि तय गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । ‘सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल मन्त्रिपरिषदको मिति २०८०–१०–२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९–१२–०२) मा प्रकाशित २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि अनुरोध छ,’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा  भनिएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १९:३५
Weather Update