News Griha :: न्यूजगृह
फेसबुकमा संवेदनशील स्टाटस लेखेर सम्पर्कविहीन भएका मैनाली मृत भेटिए

काठमाडौं— फेसबुकमा संवेदनशील स्टाटस लेखेर सम्पर्कविहीन भएका अर्जुनप्रसाद मैनाली मृत फेला परेका छन् । दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको जनाएको छ ।  उनको शरीर पूर्ण रुपमा जलेको अवस्थामा शव भेटिएको हो । उनले कारभित्र आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ । मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टिमले अनुसन्धानका लागि लिएको बताइएको छ ।

मैनालीले आज एक स्टाटस राखेर सम्पर्कविहीन भएका थिए । उनले स्टाटसमा ‘म परलोक जाँदैछु’ लेखेका थिए ।  मैनालीले पारिवारिक झैझगडाका कारण आफूले अग्निदाह गर्न लागेको पनि स्टाटसमा उल्लेख गरेका थिए । मैनाली अमेरिकाको नर्थ क्यारोलिनामा परिवारका साथ बस्दै आएका थिए ।

विभिन्न देशमा पुगेर २०६ औं पटक भन्दा बढी रक्तदान गरिसकेका मैनाली अमेरिकामा नेपाली समुदाय माझ लोकप्रिय थिए । मैनालीले ६ वटा महादेशका २० देशमा पुगेर रक्तदान गरेका थिए । सन् २००० मा अमेरिकन एसोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनको निमन्त्रणामा अमेरिकाको वासिङ्टन डिसी पुगेका उनी त्यसपछिदेखि अमेरिकामै बस्दै आएका थिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:१०
Weather Update