News Griha :: न्यूजगृह
अरुण चौधरीलाई 'दुई दिनभित्र' रिहा गर्न आदेश दिने न्यायाधीशको सरुवा

काठमाडौं — जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको काज सरुवा भएको छ । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् । सर्वोच्च अदालत स्रोतका अनुसार बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हडपेको प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिएपछि उनी विवादमा परेका थिए । 

आचार्यले गरेको आदेशमा कैफियत नभएपनि भाषा न्यायिक मर्म अनुसारको नभएको भन्दै सर्वोच्च अदालतको जिरो आवरमै छलफल चलेको थियो । आचार्यको आदेशमा हजारौँलाई रोजगारी दिएको र अभिभावक रहेको भन्ने शब्दसँग प्रधानन्यायाधीश श्रेष्ठ असन्तुष्ट रहेका थिए ।

यसअघि नवलपुर जिल्ला अदालतमा रहँदा देशैभरबाट सबैभन्दा धेरै मुद्दा फर्स्योट गरेका आचार्यलाई प्रधानन्यायाधीश श्रेष्ठले नै दुई वर्ष पूरा नहुँदै काठमाडौं जिल्ला अदालतमा ल्याएका थिए ।

एक न्यायाधीशको दरबन्दी रहेको मुगु जिल्ला अदालतमा हाल रामानन्दप्रसाद अधिकारीको दरबन्दी छ । आचार्यलाई मुगुमा काज सरुवा गरिएपछि अधिकारीलाई काठमाडौं ल्याउने तयारी भइरहेको सर्वोच्च स्रोतले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १०:२६
Weather Update