News Griha :: न्यूजगृह
धारिलो वस्तु प्रहार गरि साथीको हत्या गर्ने पक्राउ

काठमाडौं — काठमाडौंको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले खड्काको हत्या आरोपमा उनका एक जना साथीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन ।

सोमबार पत्रकार सम्मेलन गरेर यस विषयमा सार्वजनिक गर्ने एसपी कुमोध ढुंगेलले बताए । प्रहरीका अनुसार, दिपेश र पक्राउ परेका व्यक्ति दुवै मिस्त्री काम गर्दै आएका थिए ।

सामान्य विवादमा धारिलो वस्तु प्रहार गरेर हत्या गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।

प्रहरी वृत्त, महाराजगञ्जको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो । खड्काका केही साथीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

‘तर अनुसन्धानपछि घटनामा एक जनाको मात्र संलग्नता देखिएको छ, उनले कसूर स्वीकार गरेका छन्,’ एक प्रहरी अधिकृतले भने ।

शनिबार गौशालामा पनि २८ वर्षीया प्रमिला दमाईको शव फेला परेको थियो । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले बानेश्वरबाट एक जनालाई पक्राउ गरेको छ । ‘दुवै विषयबारे भोलि जानकारी गराउँछौ,’ एसपी ढुंगेलले भने ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०७:०२
Weather Update