झापाको बालुवाटार काण्ड:
माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर, हत्याएका थिए १५ बिघा सरकारी जग्गा
काठमाडौं — नेकपा माओवादी केन्द्रका नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।
आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झापाका नेता पुरी र उनकी श्रीमती केशावतीलाई दोषी ठहर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
झापाको बालुवाटार काण्ड भनेर चिनिने दमक नगरपालिका–१३ को १५ बिघा सरकारी जग्गा हडपेर सम्पत्ति कायम गरेको पुरीमाथि आरोप थियो । विशेष अदालतले पनि उनको आयभन्दा व्यय ४ करोड रुपैयाँ बढी देखिएको ठहर गरेको छ ।
पुरीसहित ६ जनाविरुद्ध २१ माघ २०७७ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । ६ जनाविरुद्ध मुद्दा दायर भएकामा २ जनामात्र दोषी ठहर भएका हुन् । उनीहरुविरुद्ध सजाय निर्धारणका लागि फागुन ६ मा पेसी तोकिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २९, २०८० ०६:२८