
काठमाडौं — बलात्कार आरोपमा पुर्पक्षका लागि सप्तरीको राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् ।
कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– ६, का १९ वर्षीय देवेन्द्र मण्डल आइतबार मृत फेला परेका कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए ।
उनका अनुसार मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको हो । गत साउन १३ गते राति १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल गत भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए ।
बालिकालाई घरबाट जबर्जस्ती तानेर पाँच सय मिटर पूर्वपोखरीको डिलमा लगेर बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।
हनुमाननगर कंकालिनी–६ का २३ वर्षीय देवनाथ मण्डल, २३ वर्षीय श्यामसुन्दर मण्डल र २० वर्षीया जसोधाकुमारी मण्डलले हातखुट्टा समातेपछि देवेन्द्रले बालिकाको सिउँदोमा सिन्दुर हालेको पीडितका बुबाको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयले मण्डललाई गत साउन १७ गते पक्राउ गरेको थियो । प्रहरी कार्यालयमा गत साउन १८ गते बलात्कारको उजुरी दर्ता भएकामा सप्तरी जिल्ला अदालतमा गत भदौ १० गते अभियोगपत्र दायर भएको थियो ।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मण्डललाई भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा राख्ने आदेश दिएको थियो ।













