युवक मृत्यु घटनामा सहायक प्रहरी हवल्दारसहित २ जना पक्राउ

काठमाडौं— कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु प्रकरणमा पाँच महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार चौधरी सहायक हवल्दारसमेत हुन् ।
उनका अनुसार उनीहरूलाई केही दिनअघि मात्र इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । राना गत असोज २८ गते कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जङ्गलमा मृत भेटिएका थिए ।
रानाको हत्या गरेको भन्दै उनकी श्रीमती सुशीलाले दुवै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
प्रकाशित मिति: आइतबार, माघ २८, २०८० १४:११













