
काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको जीप दैलेखमा दुर्घटना भएको छ । महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको जीप शनिबार दिउँसो करिब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आइतबार सामाजिक सञ्जालमा जीप दुर्घटनाको फोटो सार्वजनिक गर्दै ‘एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना’ लेखेका छन् । फोटो हेर्दा बाटो किनारमा जिप पल्टिएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार महासचिव पोखरेल सकुशल छन् ।
सोही जीपमा सवार एक जना सामान्य घाइते भएको र उनको हातमा चोट लागेको दैलेख प्रहरीले जनाएको छ। महासचिव पोखरेल जिल्ला अधिवेशनमा सहभागी हुन सुर्खेतबाट गाडी चढेर दैलेख जाँदै गर्दा दुर्घटनामा परेका थिए ।
चालकले ब्रेक फेल भएर जीप पल्टिएको बताएको दैलेख प्रहरीले जनाएको छ ।













