
काठमाडौं— रौतहट जिल्ला अदालतले आइतबारबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दामा पेसी तोकेको छ । आइतबारबाट निरन्तर सुनुवाइ हुने गरी अदालतले आलम लगायत ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।
मुद्दा दर्ता भएको करिब ४ वर्ष अदालती प्रक्रियामै रोकिएको उक्त मुद्दामा यसअघि न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि मङ्सिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन ।
सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि जिल्ला अदालतले गत पुस २९ गते आइतबारका लागि उक्त मुद्दाको पेसी तोकेको थियो । तर उक्त दिन दिन न्यायाधीश अभावका कारण गोला नतानिएपछि स्थगितको सूचीमा राखिएको थियो ।
२०६४ चैत २७ गते संविधान सभा निर्वाचनको पूर्व सन्ध्यामा साबिक रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका मोहमद अफताब आलमको काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । निर्वाचन जित्नको लागि विस्फोटनका लागि बम बनाउँदै गर्दा विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए ।
बम बनाउँदै गरेका उनीहरू घाइते भएपछि विस्फोटनको योजनाबारे पोल खुल्ने डरले घाइते अवस्थामा रहेका उनीहरूलाई आलमले आफ्नै इँटा भट्टाको चिम्नीमा घाइते अवस्थामै जलाएर मारेको आरोप लागेको छ ।













