News Griha :: न्यूजगृह
हिमाल आरोहीले अब दिसासमेत बोकेर ल्याउनुपर्ने

काठमाडौं— आरोहीहरूले अब विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालमा दिसा गरेर फ्याँक्न नपाउने भएका छन् ।

आरोहीहरूले त्यहाँ गरेको दिसा बोकेर आउनुपर्ने र नष्ट गर्ने प्रावधान लागू गर्न लागिएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन विभागसँगको समन्वयमा हिमाल सरसफाइका लागि यस्तो निर्णय गरेको हो । 

गाउँपालिकाका अध्यक्ष मिङ्माछिरी शेर्पाले हिमाललाई सफा र स्वच्छ राख्न यस्तो निर्णय गरिएको बताए । उनका अनुसार गाउँपालिकाले पर्यटन विभाग, प्रदूषण नियन्त्रण समितिसँगको समन्वयमा आरोहणको आगामी सिजनबाट सगरमाथा र ल्होत्से आरोहणमा जाने आरोहीहरूलाई आधार शिविरमै दिसा व्यवस्थापनका लागि झोला दिइनेछ । आरोहीहरूले झोला राखेर लिएर आउनुपर्ने र तल ल्याएर त्यसको व्यवस्थापन गरिनेछ । 

‘सबैसँग छलफलपछि गाउँपालिका यस्तो निर्णयमा पुगेको हो,’ अध्यक्ष शेर्पाले भने, ‘यसका लागि सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई गाउँपालिकाले फोहोर राख्ने झोला खरिद गर्नका लागि अनुदान दिने निर्णय गरेका छौँ ।’ झोलामा राख्दा दिसा नगन्हाउने गरी त्यसको व्यवस्थापन आरोहीले गर्नुपर्ने छ । 

आरोहीले आधार शिविर भन्दा माथि गएपछि खुला ठाउँमा दिसापिसाब गर्न पाउने छैनन् । त्यहाँ उनीहरूले गरेको दिसापिसाब चिसोका कारण लामो समयसम्म नसड्ने र त्यसले हिमाल दुर्गन्धित बन्ने अवस्था बनेको उनले बताए ।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०८:५३
Weather Update