![सदनमा फर्केलान् उपेन्द्र ?](https://newsgriha.com/uploads/posts/jsp (1)1681442722.jpg)
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव जनताबाट अस्वीकृत भएको चार महिनामै चुनावी मैदानमा फर्किएका छन् । संसद् छिरेर मालदार मन्त्रालय सम्हाल्ने उनको दाउ हो । यादव पटक–पटक सांसद हुँदै मन्त्री भइसकेका नेता हुन् । बारा–२, चितव–२,र तनहुँ–१ मा १० वैशाखमा उपनिर्वाचन हुँदैछ । यादव बारा–२ का उम्मेदवार हुन् ।
बारा–२ मा यादवलाई चुनाव जित्न भने सजिलो छैन । उनका प्रतिस्पर्धीको पनि राम्रो जनमत छ । सो क्षेत्रमा अध्यक्ष यादवसँगै जनमत पार्टीका शिवचन्द्र कुशवाह, नेकपा एमालेका पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल उम्मेदवार छन् ।
यादव मंसिरको निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टी अध्यक्ष डा.सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए । २०६४ सालदेखि निरन्तर संसदीय राजनीतिमा राज गर्दै आएका यादवलाई राउतले ब्रेक लगाए । यादवको अविचलित यात्रा रोकेका राउतको लोकप्रियता झन् बढेको छ ।
मंसिरमा राउत सप्तरी–२ बाट चुनाव लड्ने भएपछि उपेन्द्रले क्षेत्र परिवर्तन गरेर बारा–२ मा उठ्न चाहेका थिए । तर उनकै पार्टीका नेता रामसहाय प्रसाद यादव (हाल उपराष्ट्रपति) ले उक्त क्षेत्र छाेड्न नमानेपछि उपेन्द्र सप्तरी–२ मै फर्किए ।
राउतले यादवलाई काउन्टर दिन गत निर्वाचनमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट चुनाव लडेका शिवचन्द्र कुशवाहलाई नै उम्मेदवार बनाएका छन् । कुशवाह केही समय पहिले माओवादी छाडेर जनमतमा प्रवेश गरेका हुन् ।
कुशवाह आफ्नो प्रतिस्पर्धा जसपाका अध्यक्ष उपेन्द्र यादवसँग मात्र रहेको बताउँछन् । यादव सप्तरीमा पराजित भएर बारा आएका कारण मतदाताले यादवलाई मत नदिने दाबी गर्छन् । उनले भने,‘उपेन्द्र यादव पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन् तर त्यो गठबन्धन केन्द्रमा मात्र रहेको छ, बारामा छैन । बारा–२ को आधिकारिक उम्मेदवार म मात्र हुँ ।’
उपेन्द्रलाई सत्ता गठबन्धनको साथ
उपनिर्वाचनमा सत्ता गठबन्धनले (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी) जसपा उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गरेको छ । तर यादव सत्ता गठबन्धनको साझा उम्मेदवार भने बन्न सकेनन् । गठबन्धनमै रहेको अर्काे दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नै उम्मेदवार खडा गरेको छ ।
राष्ट्रिय राजनीतिमा बलियो प्रभाव पार्न सक्ने व्यक्ति भएकाले जसपाका यादवलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ । गत निर्वाचन जसपा उम्मेदवारले नै जितेका कारण यो उपनिर्वाचन पनि जसपा उम्मेदवारकै पक्षमा हुने पनि कतिपयको विश्लेषण छ । तर अन्य दलका उम्मेदवार पनि बलियो भएकाले यसै भन्न सक्ने अवस्था भने छैन ।
जसपाका अध्यक्ष उपेन्द्र यादव उपचुनावमा आफूले प्रतिस्पर्धी नै नदेखेको बताउँछन् । जनताले आफूलाई नै अत्यधिक मत दिएर जिताउने दाबी उनको छ । भन्छन्,‘यति मत, त्यति मत भन्दा जनताले नै अत्यधिक मत दिएर जिताउने भनेका छन्, हेरौँ, के हुन्छ ।’
संघीयता र लोकतन्त्र विरोधी शक्ति सक्रिय भएकोले उपलब्धि रक्षाको निम्ति आफू लडाइँको मैदानमा उत्रेको यादव बताउँछन् । ‘ऐतिहासिक जनआन्दोलन, माओवादी जनविद्रोह र मधेस विद्रोहबाट प्राप्त उपलब्धि समाप्त पर्ने खेल भइरहेकोले तिनै उपलब्धि रक्षाको लागि म लडाइँको मैदानमा उभिएको हुँ,’ यादव भन्छन् ।
राजनीतिक विश्लेषक प्रा.डा.लोकराज बराल मंसिरको निर्वाचनमा पराजित भएका उपेन्द्र यादवले पाँच वर्ष पर्खन सकेको भए राम्रो सन्देश जाने बताउँछन् । तर संविधान र कानुनले चुनाव लड्न पाउने व्यवस्था गरेको हुनाले उपेन्द्र यादवले व्यक्तिगत अधिकारको प्रयोग गर्न पाउने बरालको भनाइ छ ।
‘चुनावमा लड्न पाउने उहाँको हक छ । त्यसैले उहाँले आफ्नो मान्छेलाई उपराष्ट्रपति बनाएर त्यो ठाउँ खाली गराउनुभयो र त्यहाँ चुनाव लड्न जानुभयो । नैतिकताको आधारमा पाँच वर्ष पर्खेको भए हुन्थ्यो । तर संविधान, कानुनले हारेको व्यक्ति चुनावमा उठ्नबाट रोक नलगाएको हुनाले त्यो उहाँको व्यक्तिगत अधिकारको कुरा हो,’ बरालले भने ।
के भन्छन् अन्य उम्मेदवार ?
सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाएको छ । खरेलले बारा जिल्ला आफ्नो लागि नौलो नभएको भन्दै उनले यहाँको समस्याबारे आफू जानकार रहेको बताए । शिक्षा, स्वास्थ्य र सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको खरेलको भनाइ छ ।
एमाले उम्मेदवार पुरुषोत्तम पौडेल पनि परिणाम आफ्नो पक्षमा आउने बताउँछन् । ‘यस क्षेत्रबाट जितेका सांसदलाई यो क्षेत्र खाली गराउन उपराष्ट्रपति बनाएर षड्यन्त्र गरियो । अब जसपाले सप्तरी लैजान खोज्दै छ’, उनले भने, ‘यस क्षेत्रमा जसपाले दुईपटक जित्यो । अरूले पनि जिते । तिनले के गरे यहाँका जनता दुःख, पीडामा छन् ।’
पौडेलले जनताले सहारा खोजेर आफूलाई बोलाएकाले आफू उम्मेदवार बनेको समेत दाबी गरे ।