News Griha :: न्यूजगृह
हिमपातपछि राराताल किनार सेताम्ये, रमाउँदै आन्तरिक पर्यटक

मुगु रारातालको किनार हिमपातले सेताम्ये भएर टल्किएको छ । यस्तोमा यहाँ आएर रमाउने पर्यटक बढेका छन् ।

माघ दोस्रो सातातिर भएको हिमपातपछि मौसममा सुधार आएको छ । खुला आकासमुनि  नीलो राराको किनारमा जमेको हिउँको पृष्ठभूमिमा विभिन्न कोणबाट ताल र हिमालका दृश्य हेर्न पर्यटक आइरहेका छन् । रारामा हिउँमा रमाउँदै भिडियो र फोटो खिच्दै रमाउनेमा आन्तरिक पर्यटकहरू छन् ।

rara-himpat-5-1707578452.jpg
हिउँदमा रारामा पर्यटक आगमन घट्ने गरेको थियो । यसपटक अघिल्ला वर्ष जसरी अत्यधिक हिमपात नहुँदा पर्यटकलाई आउजाउमा धेरै गाह्रो छैन । त्यसैले पनि रारा पुग्नेले जाडोको फिक्री गरेका छैनन् ।

समुद्र सतहबाट २९ सय ७२ मिटरको उचाइमा अवस्थित रारातालको अधिकतम लम्बाइ ५ किलोमिटर र चौडाइ ३.२ किलोमिटर छ । रारा राष्ट्रिय निकुञ्जको १ सय ६ वर्ग किलोमिटरले यसको सुन्दरतालाई जोगाइराखेको छ ।

हिउँमा रमाउनका लागि मुगुकै विभिन्न स्थानबाट पनि युवाहरू पुगिरहेका छन् । सदरमुकाम गमगढी बजार, मुर्मा, तुम, झ्यारी, टोप्ला, पिना, सोरु, खत्याडमा रहेका दर्जनौं बस्तीबाट युवायुवती रारा जाने गरेका छन् ।

rara-himpat-1-1707578450.jpg
छिमेकी जिल्ला जुम्लाबाट पनि आन्तरिक पर्यटक दैनिक ५०/६० जना आउने गरेका छन् । हिउँ नै परेको दिन खेल्न रारा धेरै आन्तरिक पर्यटक आएको निकुञ्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताए ।

rara-himpat-4-1707578451.jpg
 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २१:०७
Weather Update