News Griha :: न्यूजगृह
किन पक्राउ परे कञ्चनपुरका दुई पत्रकार? 

काठमाडौं— शनिबार कञ्चनपुरका दुई पत्रकारलाई प्रहरी पक्राउ गरेको छ । साइबर अपराध मुद्दामा जाहेरीपछि प्रहरीले पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई नियन्त्रणमा लिएको हो । 

‘फेसबुकमा चरित्र हत्या हुने किसिमले लेखेको भन्ने जाहेरीपछि नियन्त्रणमा लिएका हौँ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ।’

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक बिनु शाहीमाथि यातनाको आरोप लगाएको भिडिओ पत्रकार भट्टले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका थिए । 

त्यसपछि निरन्तर उनले प्रहरी निरीक्षक शाही र जिप्रका कञ्चनपुरका प्रमुख एसपी कमल थापाविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

यस्तै, पत्रकार कुँवरले पनि प्रहरी निरीक्षक शाही र जवान नाथको विवादलगायत प्रहरीविरुद्धको समाचार फेसबुकमा निरन्तर साझा गरिरहेकी थिइन् । 

भट्ट माउन्टेन टेलिभिजन र कुँवर आभाषकुञ्ज दैनिकमा कार्यरत छन्। दुई पत्रकार पक्राउपछि कञ्चनपुर प्रहरीको आलोचना भइरहेको छ। प्रतिशोधपूर्ण कारबाही गरेको भए प्रहरीविरुद्ध लडाइँ लडिने पत्रकारहरूको भनाइ छ ।

‘पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । यदि प्रहरीले समाचार लेखेको भरमा प्रतिशोधपूर्ण कारबाही पक्राउ गरेको हो भने त्यो कुरा राम्रो होइन,’ पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र अवस्थीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आरोप र अभियोग तुरुन्त सार्वजनिक गर्न प्रहरी प्रशासनलाई अनुरोध गर्दछु ।’

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २०:०१
Weather Update