
काठमाडौं— काठमाडौं शहरमा पैदल मार्गको चौडाइ कम नै छ, भएका मार्गमा पनि बीचैमा बिजुलीका पोल छन् । हिँड्न अल्झाउने र ठेस लाग्ने गरी खानेपानीका पाइप राखिएका छन् ।
महानगरले फुटपाथमा व्यापार गर्न रोक लगाए पनि मुख्य शहरी क्षेत्रका सडक किनारा पैदलयात्राका लागि सहज छैनन् । महानगरपालिकाको आफ्नै अनुगमनले पनि यस्तो पाएको छ । खण्डीकृत योजनाले पूर्वाधार विकासमा दुष्प्रभाव पारेको महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बताएकी छन् ।

‘परम्परागत रुपमा हुने गरेका पूर्वाधार निर्माणमा रूपान्तरण नगर्ने हो भने लगानी र प्रयास नतिजामूलक हुन सक्दैन,’ उनी भन्छिन्, ‘यसका लागि तत्काल कन्ट्रोल रुम (निगरानी कक्ष) सञ्चालन हुनेछ ।’ बालुवाटार क्षेत्रमा निर्माण भइरहेको पैदल मार्ग सुधारको अनुगमनका क्रममा शनिबार उनले यस्तो बताएकी हुन् ।
विकास समन्वयका लागि गत बुधबार महानगरले साझेदार कार्यालयका प्रमुख र प्रतिनिधिबीच बैठक पनि गरेको थियो । उक्त बैठकमा गरिएका निर्णयका बारेमा उनले भनिन् ‘शहरको पूर्वाधारमा काम गर्ने सबै कार्यालयका अधिकारीहरू भएको कन्ट्रोल रुम हुनेछ । निर्माण योजना कार्यान्वयनमा जाँदा त्यस क्षेत्रसँग सम्बन्धित कार्यालयको योजना र दायित्व भएका कामलाई एकीकृत गराउने जिम्मेवारी कक्षमा भएका अधिकारीको हुनेछ ।’
अहिले कन्ट्रोल रुम कार्यान्वयनमा आइनसकेकाले बालुवाटार क्षेत्रका पैदल मार्गमा दृष्टिविहीन हिँड्दा सोझै ठोकिने बिजुलीका पोल छन् । अल्झिने गरी राखिएका खानेपानीका पाइपको संख्या र स्थान यकिन गरी पोललाई स्थानान्तरण गर्न र पाइपलाई तत्काल व्यवस्थापन गर्न सम्बन्धित कार्यालयलाई पत्र पठाउन भनिएको उपप्रमुख डङ्गोलले बताइन । पैदल मार्गलाई अपाङ्गता भएका व्यक्तिले सजिलै उपयोग गर्न सक्ने बनाउन अझै काम गर्नुपर्ने उनको भनाइ छ ।

पोल हटाउन यसअघि वडाबाट गरिएको पत्राचारलाई प्राधिकरणले वास्ता नगरेको कामपा–४ का वडाध्यक्ष दिनेश महर्जनले बताए ।‘पूर्वाधारमा भएका अवरोधले धेरै दुर्घटना भएका छन्, जनधनको क्षति भएको छ,’ उनले भने, ‘सुविधाका लागि बनाइने पूर्वाधार जनधन क्षतिको कारण बन्नु हुँदैन । यसमा सबै मिलेर काम गर्न जरुरी छ ।’
अनुगमनका क्रममा बालुवाटार चोकदेखि सुवर्ण शमशेर मार्ग (बालुवाटारदेखि गैरीधारातर्फ) र थिरबम सडक (शितलनिवास–बालुवाटार–नक्साल सडक) को पैदलमार्गको अवस्था हेरिएको थियो । ६ करोड २२ लाख रुपैयाँ लागत रहेको योजनामा सडकको दुवैतर्फ गरी ५.७ किलोमिटर पैदल मार्ग निर्माण हुँदैछ ।

यस सडक खण्डको पैदल मार्ग औसतमा १ मिटरका छन् । यसमा पनि बीचमै बिजुलीका पोल छन् । सुविधा वितरण गर्दाका अन्य संरचना पनि छन् । यसकारण सडकमा अपाङ्गतामैत्री निर्माण सामग्रीको प्रयोगले मात्र पूर्णता दिन सक्ने देखिँदैन ।
यसमा गर्न सकिने प्रयास र सुधारका काम गर्दै जानुपर्ने सहरी योजना आयोगका सदस्य इन्जिनियर बाबुराम भट्टराईले बताए । ‘१२ सेन्टिमिटर र्याममा १ सेन्टिमिटर भिरालो हुनुपर्नेमा यसको प्राविधिक अवस्था मिलेको देखिएन । अहिले देखिएका कमजोरीलाई आगामी योजना कार्यान्वयनका लागि सिकाइ बनाउनुपर्छ,’ उनले भने, ‘पैदल मार्गको न्यूनतम चौडाइ कायम हुन सकेको भए अझ राम्रो हुन्थ्यो ।’
अनुगमनका क्रममा निर्माण स्थलको व्यवस्थापन, निर्माण सामाग्रीको गुणस्तर, निर्माण विधि अवलम्बन जस्ता सूचकका आधारमा सामाग्री तथा निर्माण स्थल सतहको परीक्षण गरिएको थियो । यस क्रममा ब्लक बिछ्याउने काम सुरु गरिएको, काम हुँदै गरेको र ब्लक बिछ्याइसकिएको ठाउँमा खनिएको थियो ।

पैदल मार्गको सुधार गर्दा जमिन सतह (सबग्रेड) भन्दा माथि ८ सेन्टिमिटर गिटी र ढुङ्गाको धुलो भएको कम्प्याक्टेड (खाँदिएको) बेस कोर्स राख्नुपर्छ । कामको प्राविधिक जानकारी दिँदै सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले भने, ‘बेस कोर्समाथि लेबल मिलाउन ५ सेन्टिमिटरको स्टोन डस्ट राख्नुपर्छ । यो ब्लकको सतह मिलाउनका लागि हो । यसमाथि ६ सेन्टिमिटरको रंगीन ब्लक राखिनेछन् । यी ब्लकको भारवहन क्षमता (कम्प्रेसिप स्ट्रेन्थ) ३५ मेट्रिक टन प्रति वर्गमिटर हो ।’














