
काठमाडौं— पश्चिमा मुलुकबाट भित्रिएको भ्यालेन्टाइन डे अर्थात विश्व प्रेम दिवस मनाउने प्रचलन नेपालमा संस्कारको रूप लिँदै गएको छ । भ्यालेन्टाइन डे मनाउने परम्परा नेपाली समाजमा झाँगिदो अवस्थामा छ ।
विशेषगरी शहर बजारमा एक सातादेखि नै भ्यालेन्टाइनको रमझम शुरु हुन्छ । अंग्रेजी क्यालेन्डर अन्तर्गत ७ फेब्रुअरीदेखि १४ फेब्रुअरी अर्थात प्रेम दिवसका दिनसम्म विभिन्न तरिकाले दिवस मनाउने गरिन्छ । आधुनिक संस्कृतिले गाँज्दै गरेको नेपाली नयाँ पुस्ताले प्रेम दिवसलाई महान पर्वका रुपमा स्विकार्न थालेका छन् ।
तेस्रो शताब्दीमा रोमका सैनिकहरू माथि त्यहाँका सैन्य प्रमुखले अघोषित रुपमा विवाहमा प्रतिबन्ध लगाएपछि एक सैनिकले विद्रोह स्वरुप प्रेम विवाह गरेको प्रसङ्गसँग भ्यालेन्टाइन डेको इतिहास गाँसिएको छ । क्लाउडियसका पादरीले ति जोडीको विवाह जुराइदिएपछि उनै पादरीको नाम भ्यालेन्टाइनबाट यस दिनको सुरुवात भएको इतिहास छ ।
भ्यालेन्टाइन पादरीको हत्या भएपछि त्यही दिनबाट भ्यालेन्टाइन डेको परम्परा बसेको इतिहास पढ्न पाइन्छ । भ्यालेन्टाइनको हत्या पछि त्यो दिन विश्वभरका युवाहरूका निम्ति प्रेमको विजयी भएको दिनका रुपमा मनाउने परम्परा बसेको मान्यता कायम छ । रोमबाट फैलिएको उक्त प्रचलन नेपालीमा समाजमा झाँगिदै गएको हो ।
यद्यपि, यो दिवसको इतिहास जति रोचक र भावुक छ व्यक्ति नै आलोचित पनि बन्दै गइरहेको छ । इतिहास महान भएपनि आधुनिकताको नाममा छाडापन भित्रिएको छ । विश्वका थुप्रै आदर्श प्रेमका उदाहरणलाई छायामा राखेर वर्तमान पुस्ताले प्रेमलाई गलत प्रयोग गरिरहेका छन् ।
प्रेमवादी गायक थिरज राई भन्छन्, ‘हाम्रो समाजले प्रेमलाई केटाकेटीबीचको प्रेमलाई मात्र प्रेम ठान्यो र भ्यालेन्टाइन डेलाई त्यही रुपमा स्विकार्दै आएको छ, यो बिल्कुलै गलत छ । ‘आमाबाबु र छोराछोरी बीचको प्रेम, श्रीमान र श्रीमतीबीचको प्रेम, साथीसाथीबीचको प्रेमी र प्रेमिकाबीचको प्रेम पनि प्रेम नै हो जहाँ आत्मियता, घनिष्टता र निस्वार्थता रहन्छ त्यहाँ प्रेमले बास लिन्छ र त्यही प्रेम महान बन्छ ।’
प्रेमले श्रद्धा जगाउँछ र विश्वासको वातावरण बनाउँछ । त्यसैले संसारको सर्वोत्तम बस्तु नै प्रेम हो । तर यति हुँदाहुँदै प्रेम दिवसले समाजको नियम तोड्दै जान थालेकोमा लेखक लाओस राई असन्तुष्टि जनाउँछन् । उनी भन्छन्, ‘समाजको आँखा छल्दै छाडा संस्कृतिको विकास दिनदिनै हुन थालेको छ । प्रणय दिवसलाई बैँसले उन्माद भएका कतिपय युवायुवतीहरूले आफ्नो अभिष्ट पूरा गर्ने दिनमा चित्रण गर्दै आएका छन् यस्तो गर्नु सरासर गलत हो ।’
रङ्गकर्मी राज शाहको विचार अलिक फरक छ । उनको विचारमा रोमियो जुलियट, ममताज र शाहाजन, लैलामजनुको प्रेम र नेपाली समाजका मुना र मदनका बीचको आदर्श प्रेम हो । तर समाजले केटा र केटीबीच हुने प्रेमलाई मात्र प्रेम भन्दै आइरहेको छ । अरुप्रति गरिएको प्रेम ओझेलमा राखिएको छ । उनी भन्छन्, ‘मुना र मदनका बीचको प्रेममा जति त्याग र बलिदान थियो व्यक्ति नै त्याग थियो भोटेको प्रेममा पनि पाइन्छ । तर समय क्रमले मुना र मदनको प्रेमलाई मात्र प्रेम ठान्यो र भोटेले मदनप्रतिको प्रेमलाई महत्व दिएन ।’
कतिपयले प्रेमलाई गलत रुपमा व्याख्या गरेर पवित्र प्रेम दिवसलाई अपवित्र बनाउन खोजेको आरोप लगाइरहेका छन् । उपहार आदानप्रदानका कारण प्रेम भड्किलो र महङ्गो बन्दै गएको छ । प्रेमस्वरूप कसैले कसैलाई उपहार दिन्छन् । उपहार सबैले सबैलाई दिन मिल्छ । प्रेमपूर्वक श्रद्धाभावले दिने उपहार सबैका लागि उत्तम ठहरिन्छ ।
प्रेम दिवसमा प्रेमी प्रेमिकाबीच गुलाफको फूल आदानप्रदानको संकुचित मान्यता मात्र राख्दैन । भ्रम यसमा छ– भ्यालेन्टाइन केटा र केटीका बीचको दिवस हो जहाँ प्रेमी र प्रेमिकाले मात्र प्रश्रय पाउँछन् । त्यसैले यस्तो संस्कार विकास हुँदै गएकोमा नेपाली समाजमा असन्तुष्टि बढेको पाइन्छ ।
प्रेम दिवस केटाकेटीबीचको माया र प्रेम साट्ने माध्यम मात्र ठान्नु गलत हो । कसैले माया प्रेम र श्रद्धाले कसैलाई उपहार टकराउँछ भने त्यो उसको समाजप्रतिको इमान्दारिता र मानवताप्रतिको सद्भाव ठानिएको छ ।
आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्न कुनै अवसर आवश्यक त पर्दैन । तर पनि माध्यम अवश्य आवश्यक छ । पहिलेपहिले प्रेम प्रस्ताव राख्न बिहेबटुलो, रत्यौली, मेलामा मन परेको व्यक्तिलाई सिधै प्रस्ताव राखिन्थ्यो । तर अब समय बदलिएको छ ।
इन्टरनेट तथा डिजिटल प्रविधिदेखि ठूला सपिङ मलसम्म पाइने उपहारले प्रेम प्रस्ताव गर्न सहज बनाएको छ । इन्टरनेटको सहायताले युवायुवतीलाई उपहार आदन प्रदान गर्न कठिन छैन् । एकदशक यता नेपालमा सामाजिक सञ्जालले प्रेम प्रस्ताव गर्न र उपहार आदानप्रदान गर्न सजिलो बनाइदिएको छ ।
आफ्नो सामाजिक सञ्जालमा ग्रिटिङ कार्ड सजाएर आफूलाई मन परेको व्यक्तिलाई प्रेमका भावना अभिव्यक्ति गर्न थालिसकेका छन् । हिजोआज युवा पुस्ता फेसबुक, ट्वीटर लगायतका सञ्जाल मार्फत उपहार प्रदान गर्ने गर्छन् । प्रेम दिवस प्रस्तावका लागि उपयुक्त दिन मान्ने युवाहरूको संख्या बढ्दो छ ।
तर प्रेम अभिव्यक्त गर्न सामाजिक सञ्जाल भन्दापनि बजारमा पाइने गिफ्ट आइटमहरू नै प्रभावकारी बन्ने गरेको युवाहरू सुनाउने गर्छन् । पहिले पहिले सामाजिक सञ्जाल र गिफ्ट आइटमहरू नहुँदा कागजको पानामा रगतले लेखेर आफ्नो भावना व्यक्त गरिन्थ्यो त्यो धेरै प्रभावकारी थियो ।
तर अहिले आएर गिफ्टहरु नै प्रेमलाई प्रगाढ बनाउने माध्यम भएका छन् । आधुनिक प्रविधि र बदलिँदो सामाजिक परिवेशले प्रेम दिवसको जुन महत्व र सान्दर्भिकता हुनुपर्ने त्यस्तो नभइ विसङ्गति बढेकोमा भने धेरैले चिन्ता व्यक्त गरिरहेका छन् ।