News Griha :: न्यूजगृह
२० हजार रुपैयाँ घुस खाने इन्जिनियरलाई एक महिना कैद

काठमाडौं— घुस रकमसहित रङ्गेहात पक्राउ परेका इन्जिनियर अजयकुमार मेहता भ्रष्टाचारमा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रवार मेहतालाई दोषी ठहर गरेको हो । 

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनसरीको बर्जू गाउँपालिकाका तत्कालीन इन्जिनियर अजय कुमार मेहतालाई बिगो बराबरको २० हजार रुपैयाँ जरिवाना र एक महिना कैदको फैसला भएको छ । 

विशेष अदालतका सदस्य खुसीप्रसाद थारू, तेज नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मेहतालाई दोषी ठहर गरेको हो ।सुनसरीको बर्जू गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहतालाई सेवाग्राहीसँग घुसबापत लिएको २० हजार नगदसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

घरको नक्सा पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले मेहतालाई २०७९ चैत २७ गते विराटनगर महानगरपालिका ५ पुल्चोकबाट नियन्त्रणमा लिएको थियो । 

२०८० जेठ १० गते विशेष अदालतमा दर्ता भएको उक्त मुद्दामा इजलासले मेहतालाई दोषी ठहर गर्दै बिगो बराबरकै २० हजार रुपैयाँ जरिवाना र एक महिना कैदको फैसला सुनाएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १७:२८
Weather Update