
काठमाडौं— नेपाली कांग्रेस महामन्त्री गगन थापाले देशको संविधानमाथि धेरै कोणबाट प्रहार भइरहेको बताएका छन् ।
शुक्रबार आयोजित नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनमा बोल्दै उनले देशको संविधानमाथि कैयौँ कोणबाट प्रहारहरू भइरहेको भन्दै अस्वभाविक रुपमा नलिई संविधानमाथि प्रहारहरू कहाँबाट भएको छ त्यसलाई चिनेर चिर्नुपर्ने बताए ।
उनले भने, ‘आज हामीसँग यो संविधान छ । यसलाई कैयौँ कोणबाट आक्रमण भइरहेको छ । यसलाई हामी धेरै अस्वभाविक पनि नमानौं । नेपालमा मात्र होइन् । हामी एउटा चरणमा गएर यो आक्रमणहरू सकिन्छ र एकैपटक हाम्रो यात्रा सहज हुन्छ भनेर अनुमान पनि नगरौँ । अप्ठ्याराहरू आउँछन् । त्योसँग जुद्दै जाने हो । चिन्ने र चिर्ने पनि हो । संविधानमाथि प्रहारहरू कहाँबाट आएका छन् । एउटा कोण छ आक्रमण गर्ने त्यो नयाँ पात्र हामीले नचिनेको होइन् । हामीले नहराएका पनि होइन् । तीन हातबाट खोसेर जनताले यो संविधान बनाएको हो । त्यो पुनःउत्थान प्रवृत्ति हिजो पनि थियो, आज पनि छ । हामीले चिन्नुपर्छ ।’
संविधान मानेको जस्तो देखिने र निर्वाचनमा भाग लिएको जस्तो गर्नेहरूबाटै नै संविधानमाथि प्रहार हुने गरेको उनको भनाइ छ । सङ्घर्षका दिनहरूलाई सुशासनलाई पार्टीले मन्त्र बनाउनुपर्ने धारणा राखे ।
उनले भने, ‘अर्को एउटा प्रवृत्ति पनि छ । हेर्दाखेरी संविधान मानेको जस्तो देखिने निर्वाचनमा भाग लिएको जस्तो देखिने तर ख्याल गर्यौँ भने यसले हाम्रो इतिहासलाई ढिसमिस गर्छ । सङ्घर्षका दिनलाई सुशासनसँग जोड्नुपर्छ । पार्टीले त्यसलाई मन्त्र बनाउनुपर्छ । आजको दिनमा नागरिक सबैभन्दा आजित कुशासनका कारणले छन् । त्यसैले कांग्रेसले मन्त्र बनाउनैपर्छ ।’