News Griha :: न्यूजगृह
फेसबुक लाइभमा शिवसेना नेताको गोली हानी हत्या, हत्याराले पनि गरे आत्महत्या

काठमाडौं— भारतको मुम्बईमा शिव सेनाका नेता एवम् पूर्वपार्षद् अभिषेक घोषालकरको गोली हानेर हत्या भएको छ । फेसबुक भिडिओ लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी मोरिसले गोली चलाएका थिए ।

अभिषेकलाई गोली हानेपछि मोरिसले पनि आफैंलाई गोली हानेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् । अभिषेकमाथि गोली लागेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । भारतीय मिडियाहरूका अनुसार अभिषेक र मोरिस साथी–साथी हुन् । उनीहरूबीच केही दिन अघि विवाद भएको थियो । हत्याको कारण  आपसी विवाद नै हुनसक्ने अनुमान गरिएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडिओमा अभिषेक र रातो टिसर्ट लगाएका मोरिस एउटा कोठाभित्र सँगै देखिन्छन् । उनीहरु हाँसीखुसी भिडिओ च्याट गरिरहेको देखिन्छ । केहीबेरमा अभिषेक उठ्न खोज्दा उनीमाथि गोली चल्छ । अभिषेक कराउँदै लड्खडाएको देखिन्छ । तर गोली चलाउने व्यक्ति भने भिडिओमा देखिँदैन ।

भारतीय मिडियाहरूका अनुसार अभिषेकलाई उनकै साथी मोरिसले आफ्नो अफिसमा बोलाएर गोली हानेका हुन् । त्यसपछि मोरिसले पनि आफैमाथि गोली चलाएर आत्महत्या गरेको समाचारमा जनाइएको छ । अभिषेकलाई बोरीवली करुणा अस्पताल पुर्याइएको र उपचारको क्रममा ज्यान गएको मिडिया रिपोर्टहरूमा उल्लेख छ ।

मृतक अभिषेक शिवसेनाको उद्धव ठाकरे गुटका पूर्व विधायक विनोद घोषालकरका छोरा हुन् । बोरीवली विधानसभा क्षेत्रमा घोषालकर परिवारको दबदबा छ । मृतक अभिषेककी पत्नी तेजस्विनी हाल पार्षद् छिन् । अभिषेक भने मुम्बईको दहिसर वडा नम्बर १ का पूर्व नगरसेवक हुन् । उनी मुम्बई बैंकको निर्देशकसमेत हुन् ।

गत हप्ता पनि महाराष्ट्रको उल्हासनगरमा शिव सेनाको एकनाथ शिन्दे गुटका नेता महेश गायकवाडमाथि प्रहरी स्टेसनभित्रै गोली प्रहार भएको थियो । अभिषेकको हत्यापछि शिवसेना (उद्धव ठाकरे गुट)ले सरकारको आलोचना गरेको छ । उद्धव गुटका नेता एवम् सांसद सञ्जय राउतले महाराष्ट्रका गृहमन्त्री देवेन्द्र फडनविसको राजीनामा मागेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०७:०९
Weather Update