News Griha :: न्यूजगृह
सूर्यदर्शन सहकारी सञ्चालक समितिका सदस्य प्रमोद भट्टराई पक्राउ

काठमाडौं— प्रहरीले पोखरास्थित सूर्यदर्शन सहकारीको सञ्चालक समितिका एकजना सदस्यलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका– ५ का ३० वर्षीय प्रमोद भट्टराई छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वयमा काठमाडौंस्थित गोकर्णेश्वर–४, माकलबारीबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनी बिहीबार दिउँसो पक्राउ परेका थिए ।

बिहीबार साँझ उनलाई कास्की पुर्‍याइएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले बुधबार गोर्खा मिडिया नेटवर्क ९ग्यालेक्सी टेलिभिजन० का संस्थापक छविलाल जोशीको घरमा छापा मारेको थियो ।

जोशीको काठमाडौंको शंखमूलस्थित घरबाट सहकारीका खातापाता रहेका सफ्टवेयरसहितका हार्डड्राइभ नियन्त्रणमा लिएको छ ।

गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी जोशी र पूर्वसञ्चारकर्मी रवि लामिछाने साझेदार थिए । २०७८ वैशाखमा कम्पनी रजिस्ट्रार कार्यालयमा शेयर कायम हुँदा ५० प्रतिशत शेयरसहित राई अध्यक्ष, ३५ प्रतिशत शेयरसहित जोशी उपाध्यक्ष र १५ प्रतिशत शेयरसहित लामिछाने प्रबन्ध निर्देशक थिए । ४ करोड २० लाख रुपैयाँको उक्त शेयर २०७८ असोज २३ मा राईलाई बिक्री गरी रवि बाहिरिएका हुन् ।

पोखरा, चितवन, वीरगन्ज, बुटवल, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका जीबी समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको प्रारम्भिक विवरणले देखाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०६:३४
Weather Update