
बारा— नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका ५ जनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरूलाई बिहीबार सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका– ३ का वर्ष ४४ का रामचन्द्र महतो कोइरी, बाराको परवानीपुर गाउँपालिका– ५ का सुमित साह, सोही ठाउँका सन्तोष पटेल, पर्साको वीरगञ्ज महानगरपालिका– १० का विशालकुमार श्रीवास्तव र उनको सालो सोही ठाउँका नीरज श्रीवास्तव छन् ।
जितपुर सिमरा उपमहानगरपालिका– ७ जितपुर बजारमा नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एकजनालाई नक्कली नोटसहित पक्राउ गरेको थियो ।
पक्राउपछि उनको बयानका आधारमा थप ४ जनालाई पक्राउ गरिएको बरा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । पक्राउ परेका व्यक्तिबाट ६१ हजार नक्कली नेपाली नोट, भारतीय सिमकार्डसहित ७ थान मोबाइलसमेत बरामद भएको जिल्ला प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
५ तहमा नक्कली नोटको कारोबार भइरहेको जानकारीपछि गिरोहको पहिलो, दोस्रो, तेस्रो र चौथो तहसम्मका व्यक्तिलाई नक्कली नोट प्रकरणमा पक्राउ गर्न सफल भएको र चाँडै नै बाँकी पक्राउ गर्ने प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।
३ लाख नक्कली नेपाली नोट लिनका लागि १ लाख सक्कली नेपाली नोट दिनुपर्ने पक्राउ परेका व्यक्तिको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक काफ्लेले बताए । नक्कली नोट कारोबार गरेबापत ५ प्रतिशतसम्म कमिशन दिने गरेको अनुसन्धानबाट खुल्न आएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
नक्कली नोटको कारोबार गर्ने व्यक्ति खासगरी भीडभाड, किराना पसल, मासु पसल, तरकारी बजार, गाउँघरमा भैँसी, खसी खरिद गर्ने, ज्याला मजदुरी दिने काममा नक्कली पैसा प्रयोग गर्ने गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।
भारतमा नक्कली रुपैयाँ छापेर नेपालका विभिन्न ठाउँमा कारोबार गर्ने गरेको हुँदा भारतीय प्रहरीहरूसँग पनि समन्वय, सहकार्य गरेर पैसा छाप्ने सञ्जालसम्म पुग्ने उपरीक्षक काफ्लेले दाबी गरे । वीरगञ्ज महानगरपालिका– १० बस्ने विशालकुमार श्रीवास्तव नक्कली नेपाली नोटलाई नेपालमा साटासाट गर्ने गराउने नाइकेको रूपमा काम गर्दै आएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।













