News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
‘क्यान इन्फोटेक-२०२४’ सुरु, ५ दिनसम्म चल्ने प्रदर्शनीको सञ्चारमन्त्री शर्माले गरिन् उद्घाटन
Photo: RSS

काठमाडौं— कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक सुरु भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो प्रदर्शनीको उद्घाटन गरिन् । 

उद्घाटन समाहरोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताइन् । शर्माले सूचना प्रविधिमा युवा जनशक्तिलाई आकर्षित गर्ने कार्यक्रम बनाउनुपर्ने पनि बताइन् ।

‘डिजिल अर्थतन्त्रलाई नेपाली अर्थतन्त्रको मूल आधार बनाउन वृहत सहकार्य आवश्यक छ । सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ,’ उनले भनिन्, ‘आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासङ्घसँग आग्रह गर्दछु ।’

Prabhu Bank

डिजिटल नेपाल फ्रेमवर्क २०७६ को कार्यान्वयनमार्फत रहेक क्षेत्रलाई डिजिटलाइजेसन गर्दै लैजाने सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले डिजिटल पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, अर्थ र सहरी पूर्वाधारमा प्रविधिको प्रयोग बढाउन सकिएमा ठूलो परिणाम दिनसक्ने बताइन् । 

पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न कम्पनीका १५० वटा स्टल छन् । आयोजकका अनुसार प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ ।

क्यान इन्फोटेकमा नेपालमै विकास भएको एआई जेनेरेटिभ सिस्टमदेखि नेपाली समाजलाई उपयोगी हुने विभिन्न सेवा र उत्पादनको विशेष प्रदर्शनी हुने महासंघका अध्यक्ष रणजित पोदारले बताए । त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास भएको उनले उल्लेख गरे ।

प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने आयोजकको विश्वास छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:२४
Weather Update