News Griha :: न्यूजगृह
क्यानडाविरुद्धको खेलमा जब सन्दीपको पक्षमा नाराबाजी चल्यो...

काठमाडौं— क्यानडाविरुद्धको खेल भइरहँदा कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दर्शकले काठमाडौं जिल्ला अदालतबाट बलात्कार जस्तो गम्भीर घट्नामा दोषी ठहर भइसकेका क्रिकेटर सन्दीप लामिछानेको खोजी गरेका छन् । क्यानडाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले लगातार विकेट गुमाउँदा दर्शक दीर्घाबाट सन्दीपको पक्षमा नाराबाजी भएको हो ।

क्यानडाविरुद्ध नेपालले संघर्ष गरिरहेका बेला आईसीसीद्वारा मान्यता प्राप्त खेलमा गम्भीर मुद्दाका दोषीको पक्षमा हुटिङ हुनुले नेपाली क्रिकेटले विभिन्न झमेलाको सामना गर्नुपर्ने स्थिति आउनसक्ने आकलन गरिएको छ ।

लगातार विकेट गुमाएको नेपालले ३८ ओभर ५ बलमा छैटौँ विकेट गुमाएपछि दर्शकदीर्घामा रहेका क्रिकेट समर्थकहरूले ‘सन्दीपलाई न्याय दे’, ‘सन्दीप चाहियो’ लगायतका नारा लगाएका थिए र ब्यानर बोकेका थिए । सन्दीपको पक्षमा नाराबाजी भएपछि नेपाल र क्यानडाका खेलाडीको समेत ध्यान भंग मात्र भएन, उनीहरूले खेल्न छाडेर बाहिर हेरिरहेका देखिन्थे । 

सन्दीपको पक्षमा नारावाजी गर्दै प्रदर्शन गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको छ । ठूलो सङ्ख्यामा क्रिकेट समर्थकले प्रदर्शन गरेपछि नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका खेलाडीको पक्षमा प्रदर्शन गरेका सात जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । अन्य केहीले बोकेका ब्यानरसमेत प्रहरीले खोसेको छ । 

यसरी गम्भीर आरोपमा दोषी ठहर भई सजाय समेत निर्धारण भइसकेका खेलाडीको पक्षमा प्रदर्शन हुनुले नेपाली क्रिकेटको भावी बाटोको सवालमा प्रश्नहरू उठेका छन् । 

आईसीसीले दिने अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसरसमेत नेपाल क्रिकेट संघले नपाउन सक्ने, यस्तै अन्य क्रिकेटिङ राष्ट्रहरू सुरक्षा अवस्था देखाउँदै नेपालमा क्रिकेट खेल्न आउन नचाहने लगायतका चर्चाहरु सामाजिक सञ्जालमा हुन थालेका छन् । 
अदालतले बलात्कारी ठहर गरिसकेको र दोषी ठहरिएका खेलाडी आफैँले पनि निर्दोष नठहरिएसम्म मैदान फर्कन्न भनिसकेको अवस्थामा क्रिकेट समर्थकको यस्तो प्रदर्शन किन भन्ने प्रश्न समेत उठ्न थालेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई गत पुष १३ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथि सात वर्ष कैद सजाय समेत निर्धारण गरिसकेको छ । 

सन्दीपले २०७९ भदौ ५ गते आफूलाई होटलमा लगेर जबरजस्ती करणी गरेको गौशाला २६ अर्थात पीडित किशोरीको आरोप थियो । प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्ने क्रममा वेस्ट इन्डिजमा थिए । सन्दीपको स्थानमा बिहीबार सूर्य तामाङले खेलिरहेका छन् । तामाङ राम्रो स्पिन फ्याँक्न सक्ने भएपनि ब्याटिङ कमजोर देखिएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १५:१९
Weather Update