
काठमाडौं— बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसदसमेत रहेका व्यवसायी विनोद चौधरीमाथि प्रहरी अनुसन्धान केन्द्रित भएको छ । विनोदका भाइ अरुणसहित तीनजना पक्राउपछि प्रहरीले तत्कालीन च्याम्पियन फुटवेयरका शेयर सदस्यमाथि सोधपुछ र बयान थालेको हो । च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता शेयर थियो ।
तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान आफूतर्फ सोझिएको सुइँको पाएलगत्तै विनोद चौधरी भने ‘सम्पर्कविहीन’ छन् । स्रोतका अनुसार सांसद चौधरी अहिले कसैको सम्पर्कमा छैनन् । चौधरी बुधबारको प्रतिनिधि सभा बैठकमा समेत उपस्थित भएनन् । उनी भारत गएको निकटस्थ बताउँछन् ।
प्रहरीलेसमेत उनी कहाँ छन् भन्ने यकिन गर्न सकेको छैन । विनोद चौधरी फरार भएका हुन्? भन्ने प्रश्नमा एक जना प्रहरी उच्च अधिकृत भन्छन्, ‘त्यसतर्फ त हामीले सोधखोज गरेका छैनौँ ।’ तर चौधरी निकट एक व्यक्तिले भने उनी तीनदिन अघि सडकमार्ग भएर गएको दाबी गर्छन । ‘फरार भएको हो वा होइन त्यो म जान्दिन तर उहाँ भारत भने पक्कै जानुभएको हो,’ उनको दाबी छ ।
उनको मोबाइल नम्बरमा फोन गर्दा भने उनको सचिवालयले ‘रिसिभ’ गर्यो । जुन नम्बर संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सांसदहरूको फोन नम्बरसहितको ‘टेलिफोन डाइरेक्ट्री’मा उपलब्ध छ । तर उनको सचिवालयले सांसद चौधरी भने कहाँ छन् भन्ने प्रश्नको जवाफ गोलमोटल तरिकाले दियो । फोन उठाउने ती व्यक्तिले चौधरी व्यस्त भएको र केही भए आफूलाई भन्न आग्रह मात्र गरे । उनले आफू सचिवालयको व्यक्ति भएको दाबी पनि गरे । थप विवरण केही दिन मानेनन् ।
बाँसबारी जग्गा प्रकरणको अनुसन्धान चलिरहँदा विनोद चौधरीलाई पक्राउ नै नगरे पनि बयानसम्म गराउनु पर्ने पर्याप्त आधारहरू देखिएका छन् । अरुण नै थुनामुक्त भएपछि विनोदको बयान गराउने विषयसमेत जटिल देखिएको छ । प्रहरी उच्च स्रोत भन्छ, ‘परिस्थिति थप कसरी अघि बढ्छ, हेर्नुपर्छ । त्यसपछि मात्रै सबैकुरा भन्न सकिन्छ ।’
बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीका भाइ अरुणसहित ३ जनालाई सीआईबीले माघ १८ गते पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । हुन त सीआईबीले तीन महिनादेखि गुपचुप अनुसन्धान गरिरहेको थियो । अरुणसहित तीन जना पक्राउपछि मात्र सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको तथ्य सार्वजनिक भएको हो ।
तर काठमाडौं जिल्ला अदालतको आदेशपछि तीनै जना बुधबार थुनामुक्त भइसकेका छन् । जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि सीआईबीले तीन जनालाई थुनामुक्त गरेको हो ।
अदालतको आदेशपछि यो प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर बुधबार हाजिरी जमानीमा रिहा भए । आरोपितहरू छुटेपछि अनुसन्धान प्रभावित हुने आशंका गरिएको छ । तर सीआईबीका एसएसपी दिनेश आचार्य भने अनुसन्धान प्रभावित नहुने बताउँछन् । ‘उहाँहरूलाई हाजिर जमानीमा छाडेपनि थप अनुसन्धान अघि बढिरहन्छ,’ उनले भने ।
कसरी जोडिए विनोद चौधरी?
सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई बिक्री गरिएको थियो । हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ । तर त्यसको सम्पत्ति भने सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ । सीआईबीले तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडको शेयर सदस्यहरू माथि पनि अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार, त्यसबेला च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २१ सय कित्ता शेयर थियो भने विनोद चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान दुईदुई सय कित्ता शेयर थियो । त्यस्तै, गंगादेवी चौधरीको एक सय र बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा २ हजार हजार कित्ता शेयर थियो ।