
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा घोचपेच बढी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सदनलाई घोचपेच गर्ने ठाउँभन्दा पनि अलि फरक बनाउने प्रस्तावसहित आफूहरू आएको उनले बताएका छन् ।
प्रतिनिधि सभामा बुधबार बोल्दै लामिछानेले वक्ताहरूलाई ज्ञान बाँड्ने थलो बनाउन चाहेको हो भने आफ्नै दलबाट सुरु गर्न आग्रह गरे ।
उनले भने, ‘सदनलाई घोचपेच र ज्ञान बाँड्ने थलो बनाएको हो भने आफ्नै दलबाट सुरु गर्नुस् न । यदि नयाँ दल हेर्नु भएको हो भने रास्वपा त ७२ घण्टाभित्र कारबाही गर्ने दल हो । पुराना दलहरूले आफ्ना दलभित्र एकचोटि हेर्ने हो की ?’
लामिछाने बोल्नुअघि केही सांसदले सहकारीको प्रसङ्गमा लामिछानेको नाम नलिइ दोषीमाथि छानबिन र कारबाहीको माग गरेका थिए । लामिछानेले त्यसमा असन्तुष्टि राखेका हुन् ।
‘जहाँ अदालतले फैसला गरेका मानिसहरू दलका पदाधिकारी भएर बसेका छन् । विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने भनिएको छ त्यसतर्फ एकचोटि हेर्ने हो की । सरकारी जग्गा हिनामिना गर्ने मान्छेहरू आफ्नै दलका वरपर छन्, पहिला पार्टीगत रुपमा तीनलाई कारबाही गर्ने हो कि, नागरिकता किर्ते गर्नेलाई कारबाहीको दायरामा ल्याउने हो कि, सहकारी ठगहरूलाई कारबाहीमा ल्याउने हो कि,’ उनले भने ।
अपराधीहरू वर्षौँदेखि सरकार र राजनीति शक्तिकै वरिपरि रहेको भन्दै उनले कारबाही गर्न केले रोक्यो भन्दै लामिछाने सरकारलाई प्रश्न गरे ।
आरोप प्रत्यारोपको शृंखला बन्द गरेर नीति निर्माणमा ध्यानदिन उनले आग्रह गरे । सरकारले संसद्मा दर्ता नगराएका जरुरी संकल्प र महत्वका प्रस्तावहरू कार्यसूचीमै नचढाउने प्रवृत्ति रहेको भन्दै लामिछाने यस्तो नहोस् भन्नेमा जोड दिए ।