News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बाँसबारी छाला जुत्ता कारखाना प्रकरण: अरुण चौधरीसहित तीन जना थुनामुक्त

काठमाडौं— बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीन जना हाजिर जमानीमा छुटेका छन् । 

सरकारी जग्गा निजी बनाएको मुद्दामा बुधबार मध्याह्न तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर थुनामुक्त भएका हुन् ।

Prabhu Bank

तीनै जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थुनामुक्त गरेको छ । उनीहरूलाई सोमबार जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो । 

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनीहरूलाई २५ दिन हिरासतमा राख्नुपर्ने नदेखिएको भन्दै सोमबारदेखि लागू हुने गरी दुई दिन म्याद थपेको थियो । यो दुई दिनमा उनीहरूलाई गराउनुपर्ने कागज गराएर जमानीमा छोड्न भनेको थियो । त्यसअनुसार बुधबार सरकारी वकिल कार्यालयमा हाजिर गराएर तीनै जनालाई छाडिएको हो । दुई दिनमा अनुसन्धान नसकिने भएकाले पनि प्रहरीले उनीहरूलाई थुनामुक्त गरेको हो ।

उनीहरूलाई सीआईबीले गत बुधबार पक्राउ गरेको थियो ।  उनीहरूलाई सोमबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश आचार्यसमक्ष पेस गरिएको थियो । आचार्यको इजलासले उनीहरूलाई राख्नैपर्ने भए थप दुई दिन मात्र हिरासतमा राख्न र त्यसपछि हाजिर जमानीमा छोड्न आदेश गरेको हो । त्यसअघि बुधबार अदालतमा पेस गर्दा अदालतले चार दिनको अनुमति दिएको थियो । 

सीआईबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडलाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्गा लिएर त्यहाँ सीजी चाँदबाग रेजिडेन्सी बनाएको पाइएको सीआईबीले जनाएको छ । 

गत बिहीबार पत्रकार सम्मेलन गर्दै सीआईबीका एसएसपी दिनेश आचार्यले उक्त स्थानमा रहेको १० रोपनी मात्रै नभएर १८ रोपनी जग्गा नै निजीकरण गर्न खोजिएको बताएका थिए । जग्गा हडप्नका लागि बाँसबारीमा च्याम्पियन फुटवेयर लिमिटेड खडा गरिएको समेत सीआईबीले बताएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १२:३३
Weather Update