News Griha :: न्यूजगृह
माग पूरा गराउने संघर्षमै बित्यो ईसीडी शिक्षकको वर्ष २०७९

काठमाडौं— प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) शिक्षकको लागि २०७९ साल पेसागत रूपमा फलदायी रहेन । पेसागत माग पूरा गराउन तीनै तहका सरकारको ध्यानाकर्षण गराउनमै २०७९ साल बित्यो ।

बालविकास शिक्षक केन्द्रीय समितिको अध्यक्षमा पुनः कृष्णकुमारी थापा मगर नै भइन् । अध्यक्ष दोहोरिए पनि पदाधिकारी र केन्द्रीय सदस्यमा भने नयाँ शिक्षक आएका छन् । अर्कोतर्फ वर्ष २०७९ मा बालविकास शिक्षक दुई कित्तामा देखिए । रेखा रानाभाटको एउटा कित्ता र कृष्णकुमारी थापा मगरको अर्को कित्ता । तर शिक्षक महासंघलगायत शैक्षिक संघसंगठनले मगरलाई नै आधिकारिक मानेका छन् । स्थानीय तह र प्रदेशमा पनि बालविकास शिक्षकको नेतृत्व नयाँ आयो ।

वर्ष २०७९ मा ईसीडी शिक्षकको तलब दुई हजार रुपैयाँले वृद्धि भयो । संघीय सरकारले आठ हजारबाट बढाएर १० हजार रुपैयाँ पुर्‍यायो । ईसीडी शिक्षकले हाल संघीय सरकारबाट १० हजार र स्थानीय सरकारबाट सात हजार रुपैयाँ गरी १७ हजार मासिक तलब पाउँछन् । तर कतिपय स्थानीय तहले सात हजार रुपैयाँ दिएका छैनन् ।

त्यसैगरी ‘नेपाल बालविकास शिक्षक केन्द्रीय समिति’ लाई संस्था नै दर्ता नगरी बालविकास शिक्षकबाट रकम उठाई हिनामिना बनाएको आरोप लाग्यो । यो विषयमा छानबिन गरी कारबाही गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई, शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेकाे छ ।

वर्ष २०७९ मा पटक–पटक ईसीडी शिक्षकले आफ्ना पेसागत माग पूरा गराउन प्रधानमन्त्रीदेखि मन्त्री, सांसद हुँदै विभिन्न नेताहरूलाई ध्यानाकर्षण गराए । उनीहरूबाट प्रतिबद्धता मात्रै प्राप्त भयो । माग पूरा गरिएन ।

दरबन्दी कायम, प्रावि तह सरह तलबसहित सेवासुविधा, गोल्डेनह्याण्डसेकलगायत माग ईसीडी शिक्षकले उठाउँदै आएका छन् । नयाँ सरकार आउँदा माग पूरा हुने आशामा बस्ने उनीहरू अन्त्यमा निराश हुनुपरेको स्थिति । तर उनीहरूले संघर्ष गर्न छोडेका छैनन् । यसरी माग पूरा गराउने संघर्षमै ईसीडी शिक्षकको वर्ष २०७९ बित्यो ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १८:०४
Weather Update