कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधन

झापा— नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको छ ।
उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । नेता बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापाको भूमिमा उहाँको ठूलो रिक्तता अनुभूति हुनेछ । उहाँका योगदानहरू हामी सदैव स्मरण गरिरहने छौँ,’ महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए । पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए ।
लामो राजनीतिक जीवनमा उनी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भएका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८० ०८:४६