
काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको बताएकी छन् ।
बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गर्मीको समयमा त्यसरी फोहोर नउठाउँदा आम जनताको स्वास्थ्यमा असर पर्ने भन्दै यस्तो गर्नु राम्रो नभएको बताएकी हुन् । शर्माले कुनै अर्को उद्देश्य पूर्तिका लागि फोहोर नउठाएर हड्तालको विषय बनाइएको बताइन् ।
‘स्थानीय तहपनि सरकार हो । त्यसले संविधान पनि बुझ्नुपर्छ । त्यसले नीति पनि बुझ्नुपर्छ । कानून पनि बुझ्नुपर्छ र त्यो अनुसार चल्नुपर्छ’, उनले भनिन्, ‘हाम्रो कयौँ नीतिगत व्यवस्था, संविधानका व्यवस्था, कानूनमा भएका व्यवस्था हामीलाई चित्त नबुझेका पनि हुनसक्छन् । त्यो कुरा बेठिक पनि लाग्न सक्छन् । तर त्यसलाई परिवर्तन गर्ने सामर्थ्य राख्नुपर्छ । होइन भने भएको व्यवस्था कानूनी मान्छेले, हामी जनप्रतिनिधि मान्छेले कानून, संविधान मान्दैनौँ भन्यौ भने हुन्छ के ?’













