
झापा— ‘समुदायमा कांग्रेस’ अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग विभिन्न तहका कार्यकर्ताहरूले गुनासो र आक्रोश पोखेका छन् ।
सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी बिचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिँड्न नसक्ने चेतावनी दिए ।
‘हाम्रै साथी मार्नेसँग कसरी सँगै हिँड्ने? कांग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने?,’ एक सहभागीले आक्रोशित मुद्रामा प्रश्न गरिन् ।
सहभागीहरूले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले पार्टीको घोषणापत्र अनुसार काम नगरेको जस्ता गुनासाहरू राखेका थिए । भ्रष्टाचारी, माफियासँग टाढै बस्न समेत उनीहरूले नेताहरूलाई सुझाव दिए ।
सबैको कुरा सुनेर जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टी भित्र छलफल हुने र अबको कुनैपनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने ठोकुवा गरे । डा. कोइराला उक्त अभियानका क्रममा कोशी प्रदेशका जिल्लाहरूको भ्रमणमा छन् ।