News Griha :: न्यूजगृह
यथास्थितिमा टीआरसी विधेयक पास हुँदैन : केपी ओली

जनकपुर— एमाले अध्यक्ष केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी (टीआरसी) विधेयक यथास्थितिमा पास गर्न नसकिने बताएका छन् । उक्त विधेयक एमालेले संसदबाट पास गर्न नदिने उनले स्पष्ट पारे । 

महोत्तरीको जलेश्वरमा पार्टीको एक कार्यक्रममा सहभागी हुन आइतबार आएका एमाले अध्यक्ष ओलीले जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग सकेसम्म सहमतिबाट टीआरसी विधेयक टुङ्ग्याउँदा सबैको हित हुनेतर्फ जोड दिए । उनले विधेयकमा समेटिएका केही कुराले पीडितलाई न्याय भन्दा थप पीडा थप्ने अवस्था आउने उल्लेख गर्दै सबैको सहमतिमा मिलाएर मात्रै विधेयक पारित गराउनेमा आफूहरू रहेको स्पष्ट पारे । 

‘मस्यौदामा केही कुरा मिलेका छैनन् । त्यही कुरालाई मिलाएर पास गर्नुपर्छ भन्ने कुरा भैरहेका छन् ।’ एमालेले विधेयक किन यथास्थितिमा पारित गर्न  नदिने अडान लिएको भन्ने प्रश्नमा उनले थपे, ‘हामी नमिल्नुपर्ने कारण नै छैन । पीडितहरूले न्याय पाउनुपर्यो । विधेयक पीडित केन्द्रित हुनुपर्यो, पीडितलाई पीडा थप्नु भएन । पहिल्यै पीडित छँदैछन्, अब फेरी उनीहरूलाई दबाएर जानु राम्रो हुँदैन । अन्तर्राष्ट्रिय समुदायले स्वीकार्ने गरी, सर्वोच्च अदालतको फैसला समेतलाई ध्यान दिएर मानवता विरुद्धका जघन्य अपराधहरूमा छुट नहुनेगरी र फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले सहमति हुनुपर्छ ।’ 

माओवादी केन्द्रको संसदीय दलको बैठकले यही अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने विषयमा छलफल गरेलगत्तै ओलीको यस्तो धारणा आएको हो । ओलीले केन्द्रले ऐन नबनाउँदा प्रदेशमा प्रहरी समायोजन हुन नसकेको भनेर मुख्यमन्त्रीले ज्ञापनपत्र बुझाएको सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रदेशले ऐनका कारण कामै गर्न नसकेको भन्दापनि आफ्नो मान्छे भर्ती गर्नलाई प्रदेश नेतृत्वले हतारो देखाएको टिप्पणी गरे ।

उनले राजनीति गर्नेले प्रहरी चलाउँदा धेरै बिग्रिएको भन्दै प्रहरीलाई नेता र मन्त्रीको अधीनमा भन्दा पनि स्वतन्त्र रूपले आफ्नै ढंगले चल्न दिनुपर्नेमा जोड दिए । ओलीले भने, ‘समायोजन गर्नुपर्छ तर पुलिस नभएर रोकियो भन्ने होइन । आफ्ना मान्छे पुलिसमा भर्ना गर्न पाइएन भनेर हुनसक्छ । पुलिस नै नभएको त होइन नी ।’ उनले थपे, ‘पुलिसलाई आफ्नै ढंगले चलाउने परिपाटी बन्न दिनुपर्छ ।’

फरक प्रसङ्गमा पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो समयको सक्रियता बारे सोधिएको प्रश्नमा शाहले नयाँ पार्टी खोल्ने पृष्ठभूमिको तयारी गर्न थालेकोतर्फ संकेत गर्दै पार्टी नै खोले पनि त्यो ठूलो कुरा नभएको टिप्पणी गरे ।   

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १४:०२
Weather Update